तपाईँ सुन्दै हुनुहुन्छः

‘बिमामार्फत पूर्ण रुपमा उपचार गर्ने गरी मन्त्रालयले काम गरिरहेको छ’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिमा सुविधामार्फत पूर्ण रुपमा नागरिकहरूको उपचार गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बसेको बैठकमा स्वास्थ्य मन्त्री पौडेलले बिमा रकम भुक्तानी सुरक्षित नहुँदा नागरिकलाई उपचार सेवा पाउन कठिन भएको भन्नुहुँदै अब अधिकतम नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्न मन्त्रालयले अध्ययन प्रतिवेदन तयार गरेको बताउनुभयो ।

मन्त्री पौडेलले विपन्न सुविधा कार्यक्रम अन्तर्गत प्रदान गरिने १ लाख रुपैयाँसम्मको सहुलियत सेवा तहगत सरकारको कारण दोहोरोपना र आर्थिक भार परेकाले एकीकृत प्रणालीमार्फत यो सुविधा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले महिलाहरूलाई हुने स्तन क्यान्सरको प्राथमिक स्टेजमै पहिचान गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य उपचारमा सुविधा सुनिश्चित गर्नुपर्ने, दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने जस्ता विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा मन्त्रालयले हाल गरिरहेको कामकारबाहीको बारेमा समितिलाई जानकारी समेत गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button