तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा सुरु भयो स्काई डाइभिङ, १३ हजार फिट आकाशबाट डाइभ गर्न सकिने

पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ गर्न सुरु गर्नु भएको छ । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिनु भएको युवाहरूले स्काई डाइभिङ गर्न थाल्नु भएको हो ।

यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराउने भएको इन स्काई डाइभ कम्पनीका सञ्चालन तथा प्रशिक्षक एलिश थापाले बताउनुभयो । सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेका हुन् । पुष २६ (शुक्रबार) देखि माघ ८ गते (२१ जनवरी) सम्म  स्काई डाइभिङ सञ्चालन हुने प्रशिक्षक थापाले जानकारी गराउनुभयो ।

यसअवधिमा स्काई डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी दुई वटा प्याकेज बनाएको थापाले जनाउनुभयो । भिआइपीको १ लाख १५ हजार रुपैयाँ र डिलक्सको ९५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ । विदेशीलाई भने थप ५ हजार बढी शुल्क लाग्ने भएको छ ।

स्काई डाई भका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ । स्काई डाई भका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा २३ लौराक क्षेत्रमा करिब १३ हजार फिट आकाशबाट डाइभ गर्ने छन् । माथिबाट डाइभ गरेका साहसिक पर्यटकहरूलाई लौरुकको फाँटमा उतारिने भएको छ ।

यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताउनु भयो । एलिसलाई सुवास थापा, मनिष हिराचन, आशिष थापा र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिनुभएको छ । नेपालको प्राकृतिक सुन्दरतालाई विश्वभरका साहसिक पर्यटकलाई पु¥याएर नेपालमा आकर्षित गर्न पनि उक्त स्काई डाईभलाई पुनः निरन्तरता दिन लागेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button