तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाईरसको प्रभाव कम गर्न सरकारले युद्धस्तरमा काम गरिरहेका छः मन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले आवश्यकता भन्दा बढी खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु सञ्चित नगर्न आम उपभोक्ता संग आग्रह गर्नुभएको छ ।

नेपाल जनप्रशासन संघले कोरोना भाईरसका कारण आपूर्ती व्यवस्थामा परेको प्रभावका सम्वन्धमा आज सिंहदरवारमा गरेको अन्तरक्रियामा मन्त्री भट्टले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक सबै प्रवन्ध मिलाएको जानकारी दिनुहुँदै आवश्यकता भन्दा बढी वस्तुको खरिद तथा भण्डारण नगर्न आम उपभोक्ता संग आग्रह गर्नुभयो ।

मन्त्री भट्टले कोरोना भाईरसको प्रभाव कम गर्न सरकारले युद्धस्तरमा काम गरिरहेको उल्लेख गर्नुहुँदै सरोकारवाला सबै निकाय, संघ संस्था तथा आम नागरिकको तर्फबाट समेत सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ती राज्य मन्त्री मोतिलाल दुगडले आपुर्ती व्यवस्था प्रभावित हुन नदिन सरकारका सबै संयन्त्रहरू परिचालित रहेको र बस्तुको आयात तथा निर्यात समेत नियमित भैरहेको जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ् कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले हाल कर्पोरेशन संग झण्डै १० महिनालाई पुग्ने नुन मौजदात रहेको र कर्पोरेशनले विक्रिवितरण गर्ने अन्य दैनिक उपभोग्य बस्तुहरू समेत कुल क्षमताको ८० प्रतिशत भन्दा बढी सञ्चित रहेको जानकारी दिनुभयो ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा आगमी ६ महिनालाई पुग्ने औषधि मौज्दात रहेको र औषधि उत्पादकहरूका लागि आवश्यक कच्चा पदार्थ तथा तयारी औषधिको आयातमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उपभोक्ता अधिकार कर्मीहरू रञ्जन खनाल, माधव तिमिल्सिना, विमला खनाल लगायतले कालोवजारी नियन्त्रणका लागि स्थानीय सरकारलाई समेत सक्रिय र जिम्मेवार बनाउनुपर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, पेट्रोलियम पदार्थ, दुध, खानेपानी लगायतका सरकारी निकायले आपुर्ती गर्ने दैनिक उपभोग्य वस्तुहरू सरल सहज र सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button