निमित्तको भरमा बाजुराका स्थानीय तह
राजेन्द्र
बाजुरा । मानव बिकास सूचकाङ्कको ७७ औँ स्थानमा पर्ने बाजुराका सबै स्थानीय तह निमित्तको भरमा सञ्चालन भइरहेका छन् । दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले नखटाउँदा यहाँका स्थानीय तहहरू निमित्तको भरमा चलिरहेका छन् ।
बाजुरामा ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरि ९ वटा स्थानीय तह रहेका छन् । यी सबै पालिका विगत लामो समय देखी निमित्तको भरमा चलिरहेको पाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा ‘प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभए सम्मका लागी नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न खटाउन सक्नेछ भन्ने उल्लेख छ । नगरपालिकाको हकमा उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने र गाउँपालिकाको हकमा अधिकृत स्तरका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने प्रावधान छ ।
तर बाजुराका कुनै पनि स्थानीय तहमा लामो समय देखि प्रमुख प्रशासकीय अधिकृत छैनन् । खप्तड छेडेदह गाउँपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत विहीन छ । चार महिना पछि बल्ल नन्दबहादुर रोकायालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। पालिकामा तिन महिना देखी हाकिम नहुँदा आर्थिक कारोबार ठप्प रहेको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउनुभयो । सङ्घीय सरकार सँग समन्वय गरे पनि नपठाउने गरेको उहाँले बताउनुभयो ।गौमुल गाउँपालिका पनि अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ ।
हिमाली,स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकामा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका छन् ।
यस्तै बुढिनन्दा,त्रिवेणि,र बुढिगंगा नगरपालिका समेत निमित्तको भरमा सञ्चालन भइरहेका छन्।
बडीमालिका नगरपालिकामा भने अहिले प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदमबहादुर माझी हुनुहुन्छ । पालिकामा दरबन्दी अनुसारको कर्मचारी माग गर्दा संघ सरकारबाटै नपठाउने गरेका कारण जनताका दैनिक कामकाज गर्न निकै समस्या हुने गरेको यहाँका पालिका प्रमुख हरुको दुखेसो छ।
प्रतिक्रिया राख्नुहोस्