मुगुम् कार्मारोङ्को पहिचान प्राकृतिक सम्पदा ‘गुम्बा र चिट्टिम’
मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी देखी उत्तर, पूर्वमा अवस्थित मुगुम् कार्मारोङ् गाउँपालिका धार्मिक, सांस्कृतिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । परापुर्वकालमा कलात्मक शैली बाट निर्मित यी गुम्बा र चिट्टिमहरू लाई एक ऐतिहासिक धरोहरको रूपमा लिन सकिन्छ ।
यहाँ हरेक गाउँहरूमा चिट्टिम र गुम्बाहरू हुने गरेका छन् । आफ्नो परम्परागत सांस्कृतिक र धार्मिक पहिचानको प्रतीकको रूपमा सदिउँ देखी गाउँ, गाउँमा चिट्टिम र गुम्बाहरू ऐतिहासिक धरोहरका रूपमा रहँदै आएका छन् ।
चिट्टिम र गुम्बालाई मुगुम् कार्मारोङ् समुदायको परम्परागत ऐतिहासिक धरोहरको रूपमा लिइन्छ । यी गुम्बा र चिट्टिमले यहाँको जीवनशैली, इतिहास र सांस्कृतिक विविधतालाई झल्काउँछ।
स्थानीय लामा समुदायहरूले विभिन्न काल खण्डहरूमा आफ्ना दिवङ्गत नातेदारहरूको संम्नामा पूजापाठको लागि आफ्नो पायक पर्ने स्थानमा चिट्टिम चिन्ने गरिन्छ । जोकोही बाहिरी नव आगन्तुक पर्यटकहरू पहिलो चोटि गाउँ प्रवेश गर्दा वा टाढै बाट हेर्दा लस्करै लागेका ढुङ्गाबाट निर्मित चिट्टिम देख्दा अत्यन्तै मनमोहक दृश्यले देख्दा मन प्रफुल्लित हुने अनुभव सुनाउनु हुन्छ ।
त्यस्तै, गुम्बाहरू धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक केन्द्रका रूपमा स्थापित छन्। यी गुम्बाहरूले क्षेत्रीय एकता, धार्मिक सहिष्णुता र परम्परागत संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
मह गाउँका स्थानीय अगुवा पात्मा नुर्व लामाका अनुसार, पर्यटन प्रवर्द्धन र सांस्कृतिक संरक्षणका लागि चिट्टिम र गुम्बाको प्रचार(प्रसार आवश्यक छ। “हामी हाम्रो संस्कृति र परम्परालाई जोगाएरै अघि बढ्न चाहन्छौँ ” लामाले भन्नुभयो ।
करान भेग केबल धार्मिक ,सांस्कृतिक हिसाबले मात्र नभई प्राकृतिक सम्पदाको हिसाबले अत्यन्तै प्रख्यात मानिन्छ ।
कोईकी हिमाल, छायानाथ तिर्थ, र विभिन्न हिम शृङ्खलाहरू , मनमोहक तालहरूका साथै पाटन क्षेत्रहरू यही क्षेत्रमा पर्दछन् । सबै प्रकारका सम्पदाहरूले भरिपूर्ण यस क्षेत्रको समग्र विकासका लागि पर्यटन बिकास मा ध्यान दिनु जरुरी देखिएको मुगुम् कार्मारोङ् गाउँपालिकाका अध्यक्ष छिरिङ्क्याप्ने लामा बताउनु हुन्छ ।
उहाँका अनुसार “सडक यातायातको बिकास बिना पर्यटन बिकास सम्भव नहुने भएकाले नेपाल सरकारले गमगढी नाक्चेलाग्ना सडकलाई छिटो निर्माण गर्न नेपाली सेनाको जिम्मा दिनु पर्छ । अनि मात्र पर्यटन विकासको परिकल्पना गर्न सकिन्छ । “
यस क्षेत्रको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न उचित सरकारी नीति र सहयोगको खाँचो छ। यदि कार्मारोङ्को सांस्कृतिक सम्पदालाई सही ढङ्गले जगेर्ना गरियो भने यो क्षेत्र पर्यटन र विकासका लागि एउटा उदाहरणीय स्थान बन्न सक्छ।
प्रतिक्रिया राख्नुहोस्