रेडियो नेपालकर्मी थारु सम्मानित
कपिलवस्तु । रेडियो नेपाल कपिलवस्तु संवाददाता राम अवतार थारु (चौधरी) सम्मानित भएका छन् । पछिल्लो समय कपिलवस्तुमा थारु समुदायका हकहित र विकासका उल्लेखनीय योगदान पुर्याएको भन्दै थारु कल्याण कारिणी सभा मलेसिया परिवारले सम्मान गरेको हो ।
थारु समुदाय मात्रै नभएर सामाजिक लगायत हरेक क्षेत्र विकासका निमित्त विषयवस्तुहरूलाई उजागर गर्दै लामो समयदेखि सक्रिय रहेका पत्रकार थारुलाई थारु कल्याण कारिणी सभा, मलेसिया र थाकस बुद्धभूमि नगर कार्यसमिति परिवारले नगद राशिसहित सम्मान गरेको थाकस मलेसियाका पूर्व अध्यक्ष मनिराम थारुले जनाए ।
थारु समुदायको अधिकार संरक्षण, सामाजिक न्याय र ग्रामीण क्षेत्रका विषयहरूलाई कलम मार्फत उजागर गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको थाकस मलेसियाले जनाएको छ । थारु समुदायका पत्रकारलाई नेपालमै पहिलोपटक मलेसियाबाट सम्मान गर्न सुरुवात गरेको सामाजिक अभियान्ता आर.एन. चौधरीले जनाए । उनले भने ‘नेपालमा थारु समुदायका विशेषगरी ग्रामीण भेगका पत्रकारलाई पुरस्कृत गर्ने अभियानको सुरुवात पनि पत्रकार राम अवतार थारुबाटै गरिएको छ ‘ ।
थारु समुदायको हकहितमा समर्पित यस्ता कदमहरूले समाजमा सकारात्मक प्रभाव पर्ने र पत्रकारिताको माध्यमबाट ग्रामीण भेगका समस्या उजागर गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । सम्मानित पत्रकार थारु थारु पत्रकार संघ नेपालका पूर्व केन्द्रीय सदस्य, आदिवासी जनजाति पत्रकार महासङ्घ (एफएनजे) लुम्बिनी प्रदेशका पर्व सदस्य समेत हुन् । राष्ट्रिय दैनिक बुटवल टुडे, रेडियो नेपाल र बुद्ध आवाज टेलिभिजन लगायत सञ्चारमाध्यम आबद्ध रही एक दशक देखि सक्रिय रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्