तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा पाण्डेलाई अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना

काठमाडौँ । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दै छन् ।

आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिनुभयो ।

प्रधानमन्त्रीले समाजमा सकारात्मकता फैलाउने युवाहरूको सबै अभियानमा आफ्नो सधैँ साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दै छन् ।

सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए ।

रामेछाप लिखु तामाकोशी–७, तिल्पुङ स्थायी घरभई हाल महालक्ष्मी नगरपालिका–२, ललितपुरमा बसोबास गरिरहेका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमालहरू चढ्दै आएका छन् । अब नियमित रुपमा सबै महादेशका हिमालहरू चढ्दै जाने लक्ष्य रहेको बताउँदै आरोही पाण्डेले उनको यो अभियान हिमाल चढ्ने अभियान मात्रै नरहेको प्रतिक्रिया दिए । आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरूका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने गरेको उनले बताए ।

हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरूमा फहराएको नेपालको झण्डा नेपाली भूमिमै फर्किएर सगरमाथामा पुनः फहराउने पाण्डेले बताए । पाण्डे पर्वतारोहणका अतिरिक्त अन्तर्राष्ट्रिय युवा अभियान स्काउट र रोटरी इन्टरनेशनलमा समेत आवद्ध छन् ।

स्काउटका संस्थापकको नाउँमा नामाकरण गरिएको नेपालमा रहेको हिमाल बेडेन पावेल स्काउट पिक पनि उनले दुई पटक चढिसकेका छन् । स्काउट र रोटरी मार्फत पनि नेपालको पर्यटन प्रवर्द्धन गर्ने गरेको पर्वतारोही पाण्डे बताउँछन् । उनको अभियानमा मकालु आउट फिटले आवश्यक माउन्टेनियरिंग गियरहरू उपलब्ध गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button