तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता हुँदै

चितवन । चितवनमा हालसम्मकै सर्वाधिक राशिको फुटबल प्रतियोगिता हुने भएको छ ।

चितवन ११ फुटबल क्लबको आयोजनामा राईजिङ भरतपुर गोल्डकप फुटबल प्रतियोगिता माघ १२ गतेदेखि हुने भएको हो ।

भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको विषयमा जानकारी दिइएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।

प्रतियोगितामा ए डिभिजन क्लब नेपाल पुलिससहित सरस्वती युथ क्लब काठमाडौँ, बागमती युथ क्लब सर्लाही, आबुखैरेनी नगरपालिका, गैँडाकोट फुटबल क्लब, सूर्यपुर फुटबल क्लब, भरतपुर २४ खेलकुद बिकास समिति र प्याराडाईज युथ क्लब गरी ८ टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीले दश तथा हरेक दिनको प्लेयर अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो चरणमा ५० रुपैयाँ, सेमिफाइनलमा एक सय तथा फाइनलमा दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिने क्लबका अध्यक्ष कार्कीले बताए ।

क्लबले यस अघि गत वर्ष भरतपुर च्याम्पियनसिप कप आयोजना गरेको थियो । उक्त प्रतियोगिता परिमार्जन गरेर थप वृहत् गर्ने योजनासहित यस पटक गोल्डकप आयोजना गरिएको कार्कीको भनाइ थियो । पत्रकार सम्मेलनमा नवनिर्वाचित चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले प्रतियोगिताको सफलताको कामना गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button