तपाईँ सुन्दै हुनुहुन्छः

जब्दीघाटमा पुल निर्माण हुने 

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने जब्दीघाटमा पुल निर्माण हुने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले हालै पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख बजेट सुनिश्चितता गरेपछि पुल निर्माण प्रक्रिया सुरु हुने भएको हो । 

अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिई सकेको हुनाले अबको केही समयमा पुल निर्माणको लागि ठेक्का प्रक्रिया सुरु हुने सडक डिभिजन कार्यालय बाँकेका प्रमुख नरेन्द्र भट्टले बताउनु भयो । ‘हाल स्रोत सहमति पाएका छौँ अब पुल निर्माण प्रक्रिया सुरु गर्ने बाटो खुल्यो ।’उहाँले भन्नु भयो – ‘अब लागत अनुमान स्वीकृतिको प्रक्रिया अगाडी बढाउँछौ, एक महिना भित्रमा टेन्डर प्रक्रिया सुरु हुन्छ ।’ डिजाइन एण्ड विल्ड (सर्वे र निर्माण)का लागि एकै पटक टेन्डर आव्हान गरिने उहाँले बताउनु भएको छ । जुन निर्माण कम्पनीले निर्माण गर्ने हो सोही कम्पनी सर्वे गरेर निर्माण स्वीकृति लिई पुल निर्माण गरिने कार्यालयले जनाएको छ । 

पुल निर्माण भएपछि बारबर्दिया नगरपालिका सदरमुकाम गुलरिया सँग प्रत्यक्ष जोडिने छ ।  २०७४ सालको बाढीमा पुल निर्माण भएर हस्तान्तरण नहुँदै जब्दीघाटको पुल भासिएको थियो । पुलबाट जोखिम मोलेर स्थानीयहरू आवतजावत गरिरहेका थिए । २०७९ सालको बाढीले पुल पूर्ण रुपमा भत्किएपछि आवतजावत नै ठप्प भएको थियो । हाल बारबर्दियाबासी सदरमुकाम पुग्नका लागि बर्षातमा डुङ्गाको भरमा नदी तर्ने गरेका छन् भने हिउँद याममा पैसा तिरेर काठको पुल तर्न बाध्य छन् ।  

पुल नहुँदा सास्ती पाएपछि विभिन्न तवरबाट पुल निर्माणका सरकारसँग माग गर्ने र दबाब दिने कार्य भइरहेको थियो । पछिल्लो समयमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवाली, सभासद् शान्ति थारु लगाएतका टोली ज्ञापन पत्र सहित प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगाएतका स्थानमा पुग्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button