बाँकेमा जिल्ला स्तरीय मेयर कप छात्र–छात्रा फुटबल माघ २६ देखि हुने
नेपालगञ्ज । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गतेदेखि हुने भएको छ । बाँके जिल्ला फुटबल सङ्घले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरूको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।
बाँके जिल्ला फुटबल सङ्घको बैठकले माघको २६ गतेदेखि प्रतियोगिता गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले अन्तर विद्यालय मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अगाडि बढाउने निर्णय गरेको छ ।
प्रतियोगितालाई सफल बनाउन सङ्घको बैठकले विभिन्न उप–समितिको समेत निर्माण गरेको छ । सङ्घले अनुशासन तथा अपिल उप–समितिको संयोजकमा अनिल केसी, प्राविधिक उप–समितिको संयोजकमा सानु तामाङ, आर्थिक उप–समितिको संयोजकमा श्याम सुन्दर मल्ल, स्वास्थ्य उप–समितिको संयोजकमा दिपेन्द्र घलेलाई जिम्मेवारी दिएको छ ।
नेपालगञ्ज रङ्गशालामा हुने प्रतियोगिताबाट बाँके जिल्लाको पुरुष र महिला टिम छनोट गर्ने सङ्घले तयारी गरेको छ । प्रतियोगिताबाट छानिएका खेलाडीलाई फागुन महिनामा नेपालगञ्जमा हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्लाको टिमबाट सहभागी गराउने योजना रहेको अध्यक्ष शाहीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्