शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति यादव
उदयपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा समाजको आधारभूत स्तम्भ भएको बताउनुभएको छ ।
उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहमा उपराष्ट्रपति यादवले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि अनुरुप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिष्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउनुपर्ने बताउनुभयो ।
उहाँले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति यादवले समाजमा समानताको भावना जागृत गर्न एवम् देशको विकास र समृद्धिमा सहयोग गर्न पनि शिक्षालाई आजको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो ।
शिक्षा भनेको समाजको आधारभूत स्तम्भ भएको भन्नुहुँदै उपराष्ट्रपति यादवले शिक्षाले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने बताउनुभयो । ज्ञान, सही व्यवहार र सीप एवम् विद्या प्राप्त गर्ने महत्वपूर्ण प्रक्रिया पनि शिक्षा रहेको समेत उहाँको भनाइ थियो ।
उपराष्ट्रपति यादवले हामीलाई जीवनको कठिन समयमा चुनौतीहरूको सामना गर्न समेत शिक्षाले सहयोग गर्ने बताउनुभयो । उहाँले शहरमा शिक्षा प्राप्त गर्नु सजिलो भएपनि दुर्गम गाउँमा अझै पनि धेरैको पहुँचमा यो नरहेको उल्लेख गर्नुहुँदै खासगरी, छोरी चेलीहरूलाई कम उमेरमै शिक्षाबाट बञ्चित गराएको अझै पनि पाइने गरेकोले यसतर्फ सबैको ध्यानाकृष्ट हुन जरुरी रहेको बताउनुभयो ।
उपराष्ट्रपति यादवले दुर्गममा भएर पनि सरस्वती माविले शिक्षाको महत्वपूर्ण उद्देश्यहरूलाई आत्मसात गर्दै गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्नमा सहयोगी भूमिका निर्वाह गरिरहेकोमा विद्यालयको प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा संघीय सांसद डा.नारायण खड्का र चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्