मध्य तराईका जिल्लाहरूमा आजबाट शितलहर सुरु, जनजीवन प्रभावित

वीरगन्ज । मध्य तराईका जिल्लाहरूमा आजबाट शितलहर सुरु भएको छ । आज बिहान देखि बढेको चिसोसँगै शीतलहर सुरु भएपछि पर्सा,बारा ,रौतहट सहितका मध्य तराईका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ ।
मौसममा आएको स्वभाविक परिवर्तनले तराईमा चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण चिसो बढेको छ, बिहान देखि कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चहलपहल निक्कै कम भएको छ ।

बिहानै खुल्ने व्यपारीक पसल र बजारहरू पनि ढिलो गरी खुलिरहेका छन् । चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरूमा ग्राहकको भिड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरूले न्यानो लुगा जोहो गर्न थालेका छन् ।
बाक्लो हुस्सु र शीतका कारण पूर्व–पश्चिम राजमार्गको यातायात पनि प्रभावित भएको छ । कठ्याग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्नाले सवारी साधनको आवागमनमा असर पुगेको हो । बाक्लो हुस्सुले गर्दा भिजिविलिटी कम हुँदा सवारी साधनहरू कम गतिमा बत्ती बालेर गुड्न बाध्य छन् ।

बाक्लो कुहिरोका कारण यातायातका साधनहरू दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक कार्यालय पर्साले अनुरोध गरेको छ भने जिल्ला जनस्वास्थ्य कार्यालयले पनि चिसोबाट जोगिन तथा बालबालिका र वृद्धबृद्धाको विशेष ध्यान दिन अनुरोध गरेको छ ।
शीतलहर सुरु भएसँगै विपन्न, बृद्धबृद्धा, बालबालिका, दीर्घरोगी तथा दैनिक ज्यालादारी काम गर्ने मजदुर प्रभावित भएका छन् ।जाडो महिनामा तराईको समतल क्षेत्रमा हुस्सु लाग्नु तथा शीतलहर चल्नु सामान्य भए पनि स्थानीय तहहरुले यसबाट बच्न पूर्वतयारी नगर्दा बर्सेनि समस्या हुने गरेको छ । गर्मीमा तातो हावा चल्ने र जाडो महिनामा निकै चिसो हुने भएका कारण तराई क्षेत्रमा मौसमजन्य प्रतिकूलतासँग जुध्न सावधानी अपनाउनुपर्ने भए पनि समयमै सावधानी नअपनाउँदा समस्या हुने गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्