तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा काठमाडौँ रुटमा सिचुवान विमानले गर्‍यो प्रवर्द्धनात्मक उडान 

पोखरा । पोखरा काठमाडौँ रुटमा न्यारोवडि सिचुवान विमानले प्रवर्द्धनात्मक उडान गरेको छ । चीनको छेङ्दुबाट सिचुवान एयरको बी ६४४५ नम्बरको विमान पोखरामा आज (बिहीबार) चार्टर्ड उडान गरेसँगै पोखरा काठमाण्डौं रुटमा उक्त जहाजले प्रवर्द्धनात्मक उडान गरेको हो । 

चीनको छेङ्दुबाट करिब ३ घण्टा १५ मिनेटमा १ सय २९ यात्रु सहित पोखरा आएको उक्त विमान बिहान करिब ११ः१५ बजे पोखराबाट काठमाण्डौं उडान गरेको थियो । उक्त विमानमा पोखराका पर्यटन व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरू गरी १ सय २६ जना यात्रु सवार हुनु भएको थियो । 

बिहीबार भएको न्यारोवडि जहाजको प्रवर्द्धनात्मक उडानले पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न कुनै समस्या नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताउनुभयो । उहाँले भन्नुभयो“ पोखरा जाँदा होस वा पोखराबाटै काठमाडौँ आउँदा होस जहाज भरिभराउ गरेर ल्याए पछि अब त पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणमा कुनै समस्या छैन होला नी अब बिजनेस गर्न तर्फ सबै एक हुनु पर्‍यो, हामीले के गर्नु पर्छ गर्न तयार छौँ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड होल्डिङ समस्या छ यहाँ यात्रु सहित न्यारोवडि जहाज उडान गर्न कठिन हुन्छ भन्ने भ्रमलाई सिचुवानको विमानले तोडेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । पोखरा काठमाडौँ रुटमा भएको उक्त प्रवर्द्धनात्मक हवाई उडानले एक प्रकारको सकारात्मक सन्देश दिएको परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखराबाट न्यरोवडिका जहाजहरूले अन्तर्राष्ट्रिय हवाई उडान गर्न सक्ने उदाहरण पेस भएकोले पोखरामा पर्यटनको धेरै सम्भावना भएकोले यहाँबाट अब नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुनै पर्ने उहाँले माग गर्नु भयो । 

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले क्यानको टोली सहित गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल सहित अन्य सहभागी भएको पोखरा काठमाडौँको प्रवर्द्धनात्मक हवाई उडानले विभिन्न एयरलाइन्स कम्पनीलाई बाटो खुलेको दाबी गर्नु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल करिब दुई बर्ष अघि देखि सञ्चालनमा आए पनि नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडान भने हुन सकेको छैन । चिन, भारत, भुटानबाट करिब ९ वटा चार्टर्ड फ्लाईट भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button