बाढीले बगर बनेको विद्यालयका भवन पुर्ननिर्माण

जुम्ला । बेमौसमी वर्षापछि आएको बाढीले बगर बनेको तातोपानी गाउँपालिका ४ स्थित नेत्र ज्योति मावि विद्यालय पुनर्निर्माण भएको छ । चार वर्ष अघि २०७९ सालको असोज १९ गतेदेखि २५ गते सम्म भएको बर्षापछि आएको बाढीले बगरमा परिणत भएको उक्त विद्यालयको संरचना पुर्ननिर्माण भएका हुन् ।
खोला नजिकै रहेको विद्यालयमा एकाएक ठुलो बाढी पसेपछि विद्यालयका सबै भवन, घेराबार, कक्षा कोठाका फर्निचर, खानेपानी, खेलमैदान लगायतका सबै संरचना बगरमा परिणत भएका थिए ।
कक्षा कोठा सबै भत्किएका,चर्किएका मात्र थिएनन् । नियमित खेलकुद आयोजना हुने मैदान ढुङ्गा र बालुवाले भरिएको थियो । विद्यालयको हृदयविदारक अवस्थापछि विद्यार्थी लामो समय विद्यालय आउन समेत सकेका थिएनन् ।
तर बाढीले खण्डहर बनेको नेत्रज्योती विद्यालय साढे चार वर्षपछि पुरानै अवस्थामा फर्किएको छ । विद्यालयमा नयाँ पक्की भवन निर्माणदेखि घेराबार लगायतका संरचना पुनर्निर्माणपछि नियमित पठनपाठनमा समेत सहज भएको छ ।
हाल विद्यालयमा १४ कोठे पक्की भवन निर्माण भएको छ । भने मैत्रीपूर्ण शौचालय सँगै अधिकांश संरचनाहरू अपाङ्गमैत्री समेत बनेका छन् । बाढीले खण्डहर बनेको विद्यालयमा पक्की संरचना ठडिएर विद्यार्थीहरूले निर्धक्क पढेको देख्दा खुसी अनुभूति हुने गरेको नेत्रज्योती माविका प्रधानाध्यापक जाज्वाल्यराज न्यौपाने बताउनहुन्छ ।
०७९ को भयानक बाढीले साँझ सकुशल रहेको विद्यालय भोलीपल्ट बगर बनेको देखेपछि मन भक्कानिएको थियो । उहाँले भन्नुभयो,‘आफ्नो पहल,पालिका तथा सबैको सहयोगले चार वर्षमै विद्यालयमा १४ कोठे पक्की संरचना बनेका छन् । विद्यालयको स्वरूप पुरानै अवस्थामा फर्किएको छ । त्यतिबेला बाढीले विद्यालय बग्दा धेरैले विद्यालय समेत छोडे । अब हिउँद बिदा हुनै लागेको छ । नयाँ शैक्षिक शत्रपछि विद्यार्थी थपिने र ढुक्कले पठनपाठन हुने वातावरण सृजना हुने अपेक्षा गरिएको छ ।’
बाढी जानुपूर्व त्यो विद्यालयमा ७ सय विद्यार्थी थिए । अहिले ५ सय ४० जना मात्र विद्यार्थी छ । संरचना पुरानै अवस्थामा फर्किएको अवस्थामा विद्यार्थी सङ्ख्या र पठनपाठन पनि पुरानै लयमा फर्काउने प्रयास गरिने प्रअ न्यौपानेको भनाई छ ।
बाढीले विद्यालयको एक करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति गरेको थियो । चार करोड भन्दा बढी लागत स्टमेटमा बनिरहेको भवन निर्माणमा ३ करोड १७ लाख रुपैयाँ खर्च भइसकेको छ । उक्त भवनमा क्षति भएको थियो ।
हाल संघीय सरकारको नमुना विद्यालय गुरुयोजना अनुसार विद्यालयको भवन बनिरहेको छ ।भने सिचाई डिभिजन कार्यालयको सहयोगमा अत्याधुनिक शौचालय र गिडिखोलामा तटबन्ध निर्माण भइरहेको छ । साथै एक करोड १५ लाखमा खेलमैदान लगायतका पूर्वाधार बन्ने क्रम जारी छ ।
०७९ सालको बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका विद्यालय, विद्युत् गृह, घर सिँचाई कुला लगायतका सयौँ संरचना क्षतविक्षत बनाएको थियो । भने मार्सीधान उत्पादन हुने १८ हेक्टर जमिनमा क्षति पुराएको थियो । भने भित्राउनै लागेको ७ करोड बराबरको धान समेत नष्ट भएको थियो । तर राज्यले राहत तथा पुनर्स्थापना र पुनर्निर्माणमा गरेको ढिलाइकै कारण जुम्लामा चार वर्ष पहिलेका बाढीका आला घाउहरू अझै उस्तै रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्