चुरियामाई सुरुङमार्ग हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण (तस्बिरहरू)
काठमाडौँ । दक्षिण एसियाकै पहिलो सुरुङमार्गको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग आज विधिवत् रुपमा हेटौँडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको छ।
आज यहाँ आयोजित एक कार्यक्रममार्फत हेटौँडा उपमहानगरकालाई उक्त सुरुङमार्ग स्वामित्व हस्तान्तरण गरिएकाे हाे ।
सुरुङमार्गको आज उद्घाटन भएसँगै सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी गरिएको छ । पुनःनिर्माण भएसँगै सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो ।
बागमती प्रदेश सरकारले रु तीन करोड ६५ लाखको लागतमा सुरुङमार्गको जीर्णोद्धार गरेको हो । कूल दुई सय २५ मिटर लम्बाईको सुरुङको चौडाइ दुई दशमलव पाँच मिटर र उचाइ तीन मिटर रहेको छ ।
मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारी साधनहरू सञ्चालन हुँदै आएको थियो । जीर्ण भएको सो सुरुङमार्गको गत २०७९ साल वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो । सुरुङमार्ग पुनःनिर्माण भएपनि त्यसको सञ्चालन कसले गर्ने भने अन्यौलताका कारण लामो समयदेखि बन्द थियो ।
तस्बिर: प्रतीक्षा न्यौपाने /रेडियो नेपाल
प्रतिक्रिया राख्नुहोस्