तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रको रक्षाका लागि सबैले काम गर्नु पर्ने: पूर्व राष्ट्रपति डा.यादव 

'पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण '

काठमाडौँ । पूर्व राष्ट्रपति डा.रामवरण यादवले मुलुकमा नैतिकताको खडेरी देखिएको भन्दै लोकतन्त्रको रक्षाका लागि सबैले काम गर्नु पर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले आज काठमाडौँमा आयोजना गरेको नवनिर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण र अन्तरक्रिया कार्यक्रममा पूर्व राष्ट्रपति यादवले नेपाल मात्रै नभई संसारभर नै अहिले लोकतन्त्र क्षयीकरण हुँदै गएकोमा पनि चिन्ता व्यक्त गर्नुभयो । 

पूर्वराष्ट्रपति यादवले पत्रकारले पेशागत धर्म छोड्न नहुनेमा जोड दिँदै डाक्टर, राजनीतिज्ञ, वकिलले र पत्रकारले धर्म छाडे पेशा प्रतिको प्रतिष्ठा नष्ट हुनेतर्फ सचेत गराउनुभयो । 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालमा श्रमजीवी पत्रकार बन्न सहज नभएको बताउनुभयो ।

सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चारप्रतिको इमानदारी नभएको भन्दै पत्रकारका समस्या समाधानका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले निषेधको राजनीति गरे देश दुर्घटनामा जानसक्ने भन्दै नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सात बुँदे सहमति अनुसार अगाडि जान सरकारलाई सुझाव दिनुभयो ।

नेता डा. रिजालले आगामी दिनमा कुनै पार्टी वा गठबन्धनको पत्रकार नभई कन काम गर्न सञ्चारकर्मीहरूलाई आग्रह गर्दै पार्टीको प्रतिछाया बन्ने पत्रकार नहुने  बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारको हकहित र श्रमजीवी पत्रकारको सुरक्षाका लागि काम गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार मोहन मैनाली, नेपाल पत्रकार महासङ्घको निवर्तमान अध्यक्ष विपुल पोखरेल, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिका निवर्तमान अध्यक्ष बालकृष्ण अधिकारीलगायतले मर्यादित र अनुशासित रुपमा पत्रकारिता गर्न आचारसंहिता र मूल्यमान्यता भित्र बसेर काम गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिका नव निर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button