तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा तथा संस्कृतिमन्त्रीद्धारा दलित छात्रालाई पद हस्तान्तरण 

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले प्रतिकात्मक रुपमा आफ्नो पद एक छात्रालाई हस्तान्तरण गर्नुभएको छ । छात्रा तथा दलित  समुदायका विद्यार्थिहरुलाई  प्रोत्साहित गर्ने उद्देश्यले मन्त्री तिवारीले  कक्षा ११ मा पढ्ने एक छात्रालाई प्रतिकात्मक रुपमा आज आफ्नो पद हस्तान्तरण गर्नुभएको हो । 

मधेश प्रदेशमा दलित तथा मुस्लिम वर्गका महिलाहरूको शैक्षिक अवस्था सुधारका लागि अन्तर्राष्ट्रिय किशोरी दिवसको अवसर पारेर प्लान ईन्टरनेशनलको सहयोग तथा सामुदायिक परिवार कल्याण सङ्घको आयोजनामा विश्व व्यापी अभियान अन्तर्गत धनुषाको विदेह नगरपालिका वडा नंं ३ का कक्षा ११ मा पढ्ने दलित छात्रा चाँदनी पासवानलाई एक दिनका लागि शिक्षामन्त्री तिवारीले पद तथा कुर्सी हस्तान्तरण गर्नु भएको हो ।

प्लान ईन्टरनेशनलले विश्वका ७५ वटा मुलुकमा किशोरीहरूको मनोबल बढाउन तथा मुलुकको हरेक क्षेत्रमा समान सहभागिता गराउने अभियान अन्तर्गत उच्च ओहदामा भएकाहरूको पद हस्तान्तरण गराउने अभियान चलाई रहेको प्लानका क्षेत्रिय प्रबन्धक रविशंकर पण्डितले जानकारी दिनु भएको छ । यसले किशोरीको मनोबल बढ्नुका साथै किशोरी प्रतिको सामाजिक विभेदमा पनि कमी आउने विश्वास प्रबन्धक पण्डितको रहेको छ ।

एक दिनका लागि प्रतिकात्मक रुपमा मन्त्री बनेकी छात्रा चाँदनी पासवानले आफूलाई मन्त्री जस्तो गरिमामय पद हस्तान्तरण गर्नु भएका मन्त्री तिवारीलाई धन्यवाद दिँदै मधेशमा शिक्षकको अभाव, गुणस्तरीय शिक्षा, छात्रा मैत्री शौचालय, छात्रा समान खेलको अवसर जस्ता विषयमा ध्यानाकर्षण गर्नु भएको थियो ।  

कार्यक्रममा बोल्दै मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेश प्रदेश सरकारले किशोरी शिक्षा तथा सशक्तीकरणका लागि विभिन्न अभियानहरू चलाएको बताउँदै अहिले सामुदायिक विद्यालयहरूमा छात्रको तुलनामा १५ देखि २५ प्रतिशतले छात्राहरू बढी पढेकाले विद्यालयको शैक्षिक गुणस्तरका लागि शिक्षकको अभाव पूर्तिमा प्रदेश सरकार गंभिर रहेको बताउनु भयो ।

उहाँले शिक्षक तथा विद्यार्थीको अनुपातलाई सन्तुलित बनाउनका लागि प्रदेश सरकारले स्वयंसेवक शिक्षक राख्ने गरि थोरै बजेट विनियोजन गरेको र त्यसमा सघाउनका लागि दातृ निकायहरूको पटक पटक ध्यानाकर्षण गर्दै आएको बताउनु भयो ।

शिक्षामन्त्री तिवारीले किशोरीहरूलाई उच्च शिक्षा हाँसिल गर्नका लागि छात्रवृत्ति, अपाङ्गमैत्री शौचालय, प्राविधिक शिक्षामा जोड दिँदै खुल्ला पार्क, विज्ञान पार्क तथा एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रम ल्याएको बताउनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button