तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय गाउँ चित्रे पुग्ने सडक स्तरोन्नतिको काम सुरु

पर्वत । पर्वत, कास्की र स्याङ्जाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेसँग जोडिएको गण्डकी प्रदेशकै नमुना पर्यटकीय गाउँ चित्रे जोड्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ । 

पर्वतको मोदी गाउँपालिका–६ रतीखोलादेखि वडा नं ८ चित्रेसम्मको १२ किलोमिटर सडक स्तरोन्नति गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत यो रतीखोला–दराक–चित्रे–गँगटे सडक स्तरोन्नतिका लागि रु ४४ करोडमा सम्झौता भएको थियो । 

सडक स्तरोन्नति तथा कालोपत्रसहित ३० महिनामा सम्पन्न गर्नेगरी गत असारमा सम्झौता भएको हो । सडक निर्माणको जिम्मा ओएशिस इञ्जिनियरिङ विल्डर्स, पूर्ण लक्ष्मी प्रालि जेभीले पाएको छ ।

उक्त सडकअन्तर्गत दुई खण्डमा विभाजन गरेर धमाधम निर्माण कार्य थालिएको निर्माण कम्पनीका साइड इन्चार्ज लाक्पा तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ९० जना मजदुर र पर्याप्त यन्त्र उपकरण परिचालन गरेर द्रुत गतिमा काम भइरहेको छ । सडक मापदण्डअनुसार चक्ल्याउने, ग्याविन जाली भर्ने, नाली तथा टेवा पर्खाल निर्माणजस्ता काम भइरहेको तामाङको भनाइ छ । 

सडक निर्माणका लागि ढुङ्गाको भने समस्या रहेको छ । स्थानीय रतीखोलाबाट पर्याप्तमात्रामा ढुङ्गा निकाल्न नपाउँदा कामको गति बढाउन समस्या भएको उहाँको भनाइ छ । गाउँपालिका र स्थानीयसँग सहमति गरेर खोलाको ढुङ्गा प्रयोगमा ल्याउने तयारी भइरहेको छ । निर्माण सामग्रीको पर्याप्तता र अन्य कुनै अवरोध नभएमा अबको २५ महिनामै सडक कालोपत्रे गरिसक्ने दाबी निर्माण कम्पनिको रहेको छ । 

सडक खण्डअन्तर्गत आठ किलोमिटरमा ग्याबिन जाली भर्ने र अन्य पूर्वाधारको काम भइरहेको छ भने तीन किलोमिटर कटिङ गरिसकिएको छ । गत असारमा पूर्वाधार विकास कार्यालयसँग निर्माणको सम्झौता भए पनि वर्षायाम रोकिएपछि मात्र काम सुरु भएको थियो । सडक स्तरोन्नति नहुँदा गण्डकी प्रदेशमै प्रख्यात चित्रे ९होमस्टे० घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटनका साथै स्थानीयले आवतजावतमा सास्ती व्यहोर्दै आएका थिए । 

यहाँका बासिन्दा छिमेकी वडा राम्जादेउराली, आर्थरडाँडाखर्क हुँदै सदरमुकाम र डिमुवा बजारमा आउन बाध्य भएका थिए । अब भने मोदी गाउँपालिकाको केन्द्र रहेको मध्यपहाडी लोकमार्गमा जोडिने पातीचौरसम्म सिधा सडक सम्पर्कले जोडिने स्थानीय घरबास व्यवसायी शुशिलादेवी गुरुङले बताउनुभयो । स्थानीयवासीका साथै घरबासमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने भएको छ । 

विगत दुई दशकदेखि यहाँ व्यावसायिक रुपमा घरबास सञ्चालनमा रहेको छ । यहाँका एक दर्जनभन्दा बढी घरमा होमस्टे सञ्चालन छन् । दैनिक एक सय जनाभन्दा बढी पर्यटक राख्न सकिने क्षमता रहेको चित्रेमा नेपालका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । यामको बेला दैनिकजसो पर्यटकले भरिभराउ हुने गरेको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताउनुभयो । यो गुरुङ समुदायको बाहुल्यता रहेको गाउँसमेत हो । 

यसैबीच निर्माणाधीन उक्त सडक पर्वतबाट निर्वाचित सङ्घीय सांसद तथा पूर्वमन्त्री पद्म गिरीले अनुगमन गर्नुभएको छ । सो क्रममा सांसद गिरीले गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो । तोकिएकै समयमा निर्धारित गुणस्तरअनुसारको काम गरेर सडक हस्तान्तरण गर्न निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई आग्रह गर्दै उहाँले कुनै समस्या आइलागेमा आवश्यक समन्वय गर्नसमेत सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button