सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. विष्टद्वारा पदबहाली
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले आज सिंहदरबारमा पदबहाली गर्नुभएको छ ।
पदबहाली गर्नुहुँदै नवनियुक्त कार्यकारी अध्यक्ष डा. विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनको गौरवशाली इतिहासलाई संरक्षण र प्रवर्द्धन गर्दै सार्वजनिक सेवा प्रसारणको मूल ध्येयलाई स्थापित गर्ने बताउनुभयो ।
अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिक केन्द्रित गर्न आवश्यक रहेको भन्नुहुँदै सार्वजनिक सेवा प्रसारण अभ्यासबाटै परिणाम दिन सकिने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रशारणमा रूपान्तरण हुने क्रममा आउने चुनौतीको सामना गर्दै सबैले आ आफ्नो जिम्मेवारी उत्साहपूर्वक निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।
सो अवसरमा रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन एकबद्ध भई लाग्न तयार रहेको बताउनुभयो ।
यस्तै नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपानेले ऐतिहासिक प्रसारण संस्थाहरूलाई संयुक्त रुपमा एक बनाई यसको प्रसारणलाई सार्वजनिक प्रसारणका रुपमा प्रमाणित गर्न सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।
फोटो : मिलन ढुङ्गाना
प्रतिक्रिया राख्नुहोस्