तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा रहेका कर्णालीका महत्वपूर्ण प्रहरी संरचनाहरू यथाशीघ्र सारिने: गृहमन्त्री लेखक 

सुर्खेत । गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशमा रहेका कर्णालीका महत्वपूर्ण प्रहरी संरचनाहरू यथाशीघ्र सारिने बताउनुभएको छ । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत आउनु भएका गृहमन्त्री लेखकले कर्णालीमा शान्ति सुरक्षाका विषयमा चुनौती नभए पनि अपराध, परम्परागत हिंसा लागुऔषध, आत्महत्या र घरेलु हिंसा चुनौतीका रुपमा देखा परेको बताउनुहुँदै यसको निरुपणमा सरकारले नयाँ ढङ्गले सुरक्षा योजना तयार पार्ने बताउनुभयो ।  

पत्रकारहरूको प्रश्नको जवाफमा गृहमन्त्री लेखकले अपराधमा संलग्न भएको आरोप लागेका व्यक्ति माथि अनुसन्धान हुँदा मानवअधिकारको हनन् नहुने बताउनुभयो । सरकार मानवअधिकार रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै सार्वजनिक रुपमा रवि लामिछाने माथि लागेको आरोपको अनुसन्धान हुनुलाई मानव अधिकारसँग जोड्न नहुने बताउनुभयो  । 

अनुसन्धान, अदालत र न्यायिक निरूपणलाई प्रभावित गर्ने कार्य गलत रहेको उल्लेख गर्दै उहाँले सरकारले कसैको पनि मानवअधिकारको हनन् गर्ने कार्य नगरेको दाबी गर्नुभयो । अनुसन्धान र न्यायिक प्रक्रिया कानुन संवत् अघि बढ्ने उल्लेख गर्नुहुँदै मन्त्री लेखकले भिडले न्यायको निरुपण नहुने बताउनुभयो । सहकारी ठगी प्रकरणमा जोडिएका लामिछाने माथि भइरहेको अनुसन्धान प्रभावित पार्न भइरहेका गतिविधिहरू सही नरहेको बताउनुभयो । 

सरकार र मन्त्री परिवर्तनको विषय हल्ला मात्रै भएको मन्त्री लेखकको भनाई थियो । संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण गरी देशमा राजनीतिक स्थायित्वका लागि एमाले–कांग्रेस गठबन्धन बनेको गृहमन्त्री लेखकले बताउनुभयो । वर्तमान गठबन्धन सरकारको मुख्य एजेण्डा भनेको भ्रष्टाचारमुक्त र सुशासन सहितको राष्ट्र निर्माण रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button