तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आर्थिक वर्ष २०८०/०८१ मा १०१ जना एचआईभी संक्रमित फेला

बाँके । बाँकेमा आर्थिक वर्ष २०८०/०८१ मा १० हजार ७ सय ५९ जनामा परीक्षण गर्दा १०१ जनामा एचआईभी संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय बाँकेका एचआईभी फोकल पर्सन रविन्द्र साहले नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा यो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो। यसअघि, आर्थिक वर्ष २०७९र०८० मा १७ हजार ३ सय २८ जनामा परीक्षण गर्दा १०९ जनामा संक्रमण देखिएको थियो।

सङ्क्रमितहरूले भेरी अस्पतालमा रहेको एआरटी (एन्टीरेट्रोभाइरल थेरापी) सेन्टरमार्फत नियमित उपचार सेवा लिइरहेका छन्। हाल यस सेन्टरबाट ५ सय ८८ जना सङ्क्रमितले नियमित सेवा लिइरहेका छन्। फोकल पर्सन साहका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७९ जना नयाँ बिरामीले एआरटी सेवा लिन थालेका छन्।

भेरी अस्पतालमा सन् २००४ मा एआरटी कार्यक्रम सुरु भएको हो। हालसम्म १ हजार ७ सय १२ जनाले यस सेन्टरबाट सेवा लिएका छन्। एआरटी काउन्सिलर इन्द्र सैनीका अनुसार संक्रमित ७ जना आमाले भेरी अस्पतालको एआरटी सेवाबाट स्वस्थ नेगेटिभ बच्चा जन्माएका छन्।

यसैगरी, भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एचआईभी फोकल पर्सन डा. सङ्केत रिसालले एचआइभीका लक्षण, जोगिने उपाय, र सचेतनाका विषयमा जानकारी दिनुभयो । उहाँले समयमै परीक्षण र उपचार गराएमा एचआईभी सङ्क्रमणले ज्यान नलिने भन्दै समुदायलाई सक्रिय हुन आग्रह गर्नुभयो।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले एड्स अन्त्यका लागि अझै पनि व्यापक सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले तीनै तहका सरकारहरूबिच समन्वय गरी यस क्षेत्रमा बजेट सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सरकारले एचआईभी नियन्त्रणका लागि आवश्यक बजेट छुटाउन नसकेको बताउनुभयो।

‘एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ भोलि ३७औँ विश्व एड्स दिवस मनाइँदैछ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका तथ्यांकअनुसार सन् २०२३ सम्म नेपालमा ३० हजार ३ सय एचआईभी संक्रमित रहेको जानकारी छ। एड्स अन्त्यका लागि सरकारी र गैरसरकारी क्षेत्रको प्रयासमा व्यापकता आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button