प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको औपचारिक घोषणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको औपचारिक घोषणा गरिएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लि छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्नु हुने जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै चीनका प्रधानमन्त्री लिसँग द्विपक्षीय वार्ता गर्नुहुने तय गरिएको छ । द्विपक्षीय वार्तामा दुई देशको आपसी हित र चासोका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लचीसँग पनि भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण टोलीमा पत्नी राधिका शाक्य,परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा ,प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीसहित रहनुहुने छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा नेपाल चीन विजनेश फोरमलाई मुख्य सम्बोधन गर्नुहुने छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्