वीरगञ्ज महानगरद्वारा क्रिकेटर प्रवीण र सर्वोत्कृष्ट छात्रा साह सम्मानित
वीरगञ्ज । वीरगञ्ज महानगरले क्रिकेटर साना प्रवीण र एसइईमा पर्सा जिल्लामै सर्वोत्कृष्ट बनेकी छात्रा रिया साहलाई सम्मान गरेको छ ।

१९ वर्षमुनिको नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा पुर्याउन योगदान दिएकी वीरगन्जकी क्रिकेट खेलाडी साना प्रवीण र २०८० को एसइई परीक्षामा पर्सा जिल्लामै सर्वोत्कृष्ट भएकी रिया साहलाई वीरगञ्ज महानगरपालिकाले आज एक कार्यक्रमबीच सम्मान गरेको हो ।
महानगरपालिकाले नेपाली क्रिकेट टोलीकी खेलाडी वीरगन्जकी प्रवीणलाई नगद ५१ हजार रुपैयाँ र रिया साहलाई उनको उच्च शिक्षा अध्ययनमा थप हौसला प्रदान गर्न ल्यापटपसहित सम्मान गरेको छ ।

प्रवीणले भर्खरै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्ड विरुद्धको खेलमा अर्ध शतक प्रहार गर्दै नेपालको जितमा कीर्तिमानी साझेदारी गरेकी थिइन् ।
यस्तै २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्सा जिल्लामै सर्वोत्कृष्ट अङ्क ३.९७ जिपिए ल्याएर रिया साह उत्तीर्ण भएकी हुन् ।
दुवै जनालाई महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रुपमा नगद र ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्