तपाईँ सुन्दै हुनुहुन्छः

मृत्युपश्चात् मानवअंग दान गर्ने परिवारलाई २ लाख प्रदान गर्ने : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अङ्ग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गर्नुभएको छ ।
यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने मन्त्री पौडेलले निर्णय गर्नुभएको हो ।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ । मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो ।
अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।


आफ्नो मृत्युपछि अरूको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेको मन्त्री पौडेलले बताउनुभयो, एउटाको जीवनपछि अरूको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेको उहाँले बताउनुभयो । मन्त्री पौडेल स्वयंले समेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसक्नु भएको छ । देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् ।

विद्यमान कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात् दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरू जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।
हाल भक्तपुरको शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनी दुई सय मृगौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अङ्ग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अङ्ग प्रत्यारोपण गर्दै आइरहेका छन् ।

हाल सचेतना अभावमा दान गर्न चाहनेको सङ्ख्या न्यून छ । मृत्युपश्चात् हुने दान बढाउन सकिए धेरैको ज्यान जोगाउन सकिने शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । हाल एक हजार बढी मृगौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतीक्षामा छन् । र, उनीहरूले मृत्युपश्चात् हुने दानमा अधिक निर्भर गर्नु परिरहेको छ ।

हाल नेपालमा मृगौला र कलेजो मात्र प्रत्यारोपण गर्ने गरिए पनि अब २ फोक्सो र मुटुका लागि समेत प्रत्यारोपण गर्ने गरी क्षमता विकास गर्ने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button