तपाईँ सुन्दै हुनुहुन्छः

बबई नदीमा १० हजार माछाका भुरा छोडियो

बाँके । बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छोडिएको छ। 

विश्व मत्स्य दिवस २०८१ को अवसरमा “मत्स्य क्षेत्रमा लगानी वृद्धि: खाद्य सुरक्षा, दिगो विकास र समृद्धि” भन्ने मुल नारासहित आयोजना गरिएको कार्यक्रममा १० हजार माछाका भुरा छोडिएको हो।

परम्परागत र स्थानीय माछा आयातित प्रजातिका कारण लोप हुने जोखिम बढेपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दिया र भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र बाँकेको संयुक्त प्रयासमा रोहँ, नैनी र भाकुर जातका माछाका भुरा बबई नदीमा छोडिएको हो।

बबई नदीमा रोहँ, नैनी, भाकुर, पढ्नी, र बामजस्ता स्थानीय जातका माछा पाइने गरेको भए पनि पछिल्लो समय ती लोप हुँदै गइरहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताउनुभयो। 

उहाँले पछिल्लो समय मत्स्य अनुसन्धान केन्द्र, प्रदेश, र स्थानीय सरकारको सहयोगमा स्थानीय प्रजातिका माछा संरक्षणमा सहयोग भइरहेकोले तिनीहरूको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो।

बर्दियामा हाल ४३६ हेक्टर क्षेत्रमा माछा पोखरी छ, जहाँ वार्षिक २,२३४ मेट्रिक टन माछा उत्पादन हुन्छ। तर, पोखरी र नदीमा भुरा छोड्दा बकुल्ला र सर्पले खाने जोखिम रहने भएकाले कम्तीमा १०-१५ ग्रामका माछा छोड्दा उपयुक्त हुने ढकालको सुझाव रहेको  छ।

स्थानीय माछा प्रजातिको संरक्षण र जलारी समुदायको जीवनस्तर सुधारका लागि माछा पालनका लागि केज हस्तान्तरण, भुरा छोड्ने कार्यक्रम, र व्यावसायिक माछापालन प्रवर्द्धन जस्ता गतिविधि अघि सारिएको छ। कार्यक्रमले बर्दियालाई दूध, माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउने योजना सफल बनाउन मद्दत पुर्‍याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button