तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप छनोट भएका महिला क्रिकेट टोली सम्मानित 

कञ्चनपुर । विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ।

जिल्लाको महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई शनिबार ३०÷३० हजारसहित सम्मान गरेको हो। 

त्यसैगरी,  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई ५० हजार र टोलीका सहायक प्रशिक्षक जानकी भट्टलाई ३० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।

खेलाडीलाई सम्मान गर्दै मन्त्री थापाले खेलाडीहरूको मेहनतले देशकै प्रतिष्ठा जोगिएको उल्लेख गर्दै प्रदेश सरकारबाट खेलकुदको विकासका लागि पहल गरिने बताउनुभयो। 

जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले सरकारले क्रिकेटको विकासमा जोड दिनुपर्ने बताउनुभयो।

होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भुपालसिंह विष्टले खेलाडीको हौसलाका लागि सम्मान गरिएको बताउनुभयो।

गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएइलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो। 

सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button