तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाले उदयपुरगढी–चौदण्डीगढी पदयात्रा गर्ने

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा रहेको नेपाली सेनाको पशुपतिप्रसाद गणले जिल्लाको उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पदयात्रा गर्ने भएको छ । 

ऐतिहासिक गढी, किल्लाको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्य सहित गाइघाट बोक्से स्थित पशुपतिप्रसाद गणको पिपलटार ब्यारेकको आयोजनामा ८५ किलोमिटर महाभारत पदयात्रा गर्ने भएको हो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर गणले आगामी पुस २१ देखि २७ गतेसम्म ऐतिहासिक स्थल उदयपुरगढीदेखि अर्को ऐतिहासिक स्थल चौदण्डीगढीसम्मको पदयात्रा गर्ने भएको पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी शिव प्रसाद वाग्लेले जानकारी दिनुभयो । 

गणपति वाग्लेका अनुसार पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्वसाधारणहरूको सहभागिता रहने छ । यसले पर्यटन प्रवर्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

पदयात्राको क्रममा बाटोमा पर्ने गाउँ बस्ती र विद्यालयहरूमा समेत भेटघाट गर्दै जाने जानकारी दिइएको छ । यात्रा पुरा हुँदा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी उदयपुर जिल्लाका चार पालिकाको भ्रमण हुनेछ । कार्यक्रमका लागि पालिका प्रमुखहरू, गणपति, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष, जिल्ला साइकल संघका अध्यक्ष र नेपाल पत्रकार महासङ्घ उदयपुरको अध्यक्षसहितको समिति बनाइएको छ । 

साथै इतिहास संरक्षण तथा प्रवद्र्धन सम्बन्धी विषयवस्तुमा पालिकाहरूमा हाजिरी जबाफ, निबन्ध लेखन, वक्तृत्वकला र कविता वाचन प्रतियोगिता समेत सञ्चालन गरिनेछ ।

यात्राको पहिलो दिन पदयात्राको टोली उदयपुरगढीमा उद्घाटन गरी डुम्रेमा बास बस्ने, दोस्रो दिन सोही पालिकाको ढुङ्ग्रे (भिरगाउँ)मा बास बस्ने छ । तेस्रो दिन रौतामाईको पुवारे भञ्ज्याङमा बास बसेर चौथो दिन रौता पोखरीमा बस्नेछ । त्यसैगरी पाँचौँ दिन त्रियुगा नगरपालिकाको निपानेमा बास बस्ने छ र छैटौँ दिन चौदण्डीगढीको सिम्लेमा र सातौँ दिन विरेन्द्रबजार हुँदै चौदण्डीगढीमा पुगेर कार्यक्रम समापन गर्ने छ । यात्रा तालिका अनुसार दैनिक पाँचदेखि पन्ध्र किलोमिटरसम्म दुरी पार गरिने छ ।

समापन समारोहमा पालिका स्तरमा भएका साहित्यिक प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण, यात्राको समीक्षाका तथा सहभागीलाई सम्मान, मायाको चिनो वितरण लगायतका कार्यक्रम गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button