तपाईँ सुन्दै हुनुहुन्छः

‘लोकतन्त्रप्रति भरोसा जगाउन पारदर्शी शासन प्रणाली र सुशासन अनिवार्य’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण गर्नुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउन पारदर्शी शासन प्रणाली, जबाफदेहिता र सुशासन पहिलो शर्त भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यता अनि पवित्रतालाई धुमिल बनाउने अवस्था आउन दिनुहुँदैन । यो कुरामा ध्यान दिन सके नै लोकतन्त्रको मूल्यमा कसैसँग सम्झौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ भन्ने पनि म ठान्दछु ।’

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि सङग्रहणीय सामग्री हुने स्पष्ट पार्नुभयो ।

बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित हुनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै उहाँले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि निधिले आफ्नो जीवन समर्पित गर्नुभएको स्मरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button