नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथिको छलफल अन्तिम चरणमा
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल अन्तिम चरणमा पुर्याएको छ ।
समितिको आज बसेको बैठकले विधेयकमाथिको दफावार छलफल सकेर प्रतिवेदन तयार पार्न समिति सचिवालयलाई निर्देशन दिएको सभापति तुलसा कुमारी दाहालले जानकारी गराउनुभयो ।
नवीकरणीय ऊर्जाको प्रवद्र्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्य राखेर विधेयक ल्याइएको थियो ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अधिकार प्रयोग गर्नेले दायित्व समेत बहन गरेको छ की छैन भन्ने कुरालाई समेत ध्यान दिने गरी कानुन निर्माण गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
मन्त्री खड्काले व्यक्ति हेरेर नभई न्याय र न्यायोचित हुनेगरी कानुन बनाउनुपर्नेमा जोड दिँदै संरचनाहरू निर्माणमा सबैतिर एकरुपता कायम हुनेगरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।
समितिले कार्बन उत्सर्जन न्युनिकरण तथा जलवायु अनुकूलन सम्बन्धी आयोजनाको विकास तथा कार्यान्वयन गरी कार्बन व्यापार वृद्धि गर्ने व्यवस्थामा कार्बन उत्सर्जन न्युनिकरण बापत प्राप्त हुने लाभको व्यवस्थापन गर्न वित्तीय मध्यस्थकर्ताको भूमिका नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता केन्द्रले नै गर्ने व्यवस्था थप गर्ने निर्णय गरेको छ ।
समितिले भोली बैठक बसेर नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पास गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्