तपाईँ सुन्दै हुनुहुन्छः

भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाउने ९ सामाजिक कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई मङ्गलवार कारबाही गरेको छ । ती मध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार समेत गरेको छ ।

सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ ।

काउन्सिलले पछिल्लो समयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ ।

केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारबाही गरेको काउन्सिलले जनाएको हो । काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रह समेत गरिएको छ ।

अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापि होइन, प्रेस काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ । प्रेस विज्ञप्तिमा कारबाहीमा परेका माध्यमहरूको विवरण समेत राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button