तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकता : वनमन्त्री शाही

बाकु । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायुको उच्च जोखिम भोग्ने राष्ट्रको रूपमा रहेकाले जलवायु उत्थानशील दिगो विकास आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा आज ‘वर्ल्ड ग्रिन इकोनोमी अर्गनाइजेसन’ (डब्ल्युजीइओ)का अध्यक्ष सईद मोहम्मद अल ताएरसँग भएको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले उक्त सङ्गठनमा सामेल हुने र यसको सामूहिक प्रयासहरूमा योगदान गर्ने सम्भावित लाभका बारेमा आफूहरू उत्साहित रहेको उल्लेख गर्नुहुँदै कुनै पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय संलग्नतामा नेपालले स्थापित प्रक्रियाहरू पालना गर्ने र सम्बन्धित मन्त्रालयबाट आवश्यक अनुमोदन खोज्ने उल्लेख गर्नुभयो ।

यस सहकार्यले नेपालका जलवायु चुनौतीहरूलाई सम्बोधन गर्न र हरित अर्थतन्त्रलाई बढावा दिन महत्वपूर्ण प्रगति हासिल गर्न सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो । त्यस अवसरमा मन्त्रालयका सचिव डा दीपककुमार खरा लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button