रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा कार्तिक २ गते पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि गत मङ्गलवार कास्कीबाट जहाजबाट भैरहवा लगे पनि पुनः शुक्रबार पोखरा ल्याइएको हो ।
सभापति लामिछानेको बयान भने हिजो साँझ बेलुका सकिएको थियो ।
रवि लामिछानेलाई हेर्न र उहाँको समर्थमा नारा जुलुस लगाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय अघि जम्मा भई नारा जुलुस लगाउने १ महिलासहित ७ जनालाई पक्राउ गरिएको कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले बताउनुभयो । निषेधित क्षेत्रमा नारा जुलुस नलगाउन आग्रह गर्दागर्दै नारा जुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी शर्माले जनाउनुभयो ।
रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले कार्तिक २५ गते चौथो पटक पुनः १३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
यसैबिच, रास्वपाले आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर म्याद थप गर्दै हिरासतमा राखेको आरोप लगाउँदै सडकमा उत्रिएको छ । पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया राख्नुहोस्