लोप हुँदै डोको बुन्ने पेशा

गुल्मी । आजभोलि गाउँघरमा बाँस तथा निगालोबाट निर्माण हुने सामाग्री डोको, नाङ्लो डाला, सुपा,मान्द्रा,थुन्से लगायतका सामाग्री कमै मात्र देखिन्छन् । दिन प्रतिदिन गाउँशहरमा आधुनिक प्रविधिको माध्यमबाट निर्माण गरिएका सामाग्री प्रयोगमा आउँदा डोको बुन्ने चित्रे पेशा नै सङ्कटमा पुग्न थालेको छ ।
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिर सिलादी बस्दै आउनुभएका कृष्ण बहादुर सुनार आफ्नो पुर्खाले गर्दै आएको डोको बुन्ने पेसालाई सिको गरी निरन्तरता दिँदै आउनुभएको छ । सुनारले गाउँगाउँ पुगेर बाँस तथा निगालो मागेर किनेर डोको, नाङ्लो,सुपा,डाला आदि सामाग्री निर्माण गर्दै आउनुभएको छ ।

कृष्णबहादुर सुनारले बाँस र न्यालोबाट निर्माण गरेका सामाग्री गाउँघरमा बेचबिखन गरेर छोराछोरीको पढाई र घर खर्च चलाउँदै आउनु भएको बताउनुहुन्छ ।
गाउँघरमा पाइने तामे बाँस, गोपीबाँस, निगालोबाट डोको नाम्लो कार्को, चाल्न स्याउँलगायतका सजावटका सामान खाट, दराज आदि निर्माण गर्न सकिन्छ । बाँसको घाँस गाई वस्तुलाई खुवाउन प्रयोगमा आउँछ भने यसबाट माछा मार्ने ढडिया समेत निर्माण हुने गर्दछ ।
गाउँघरमा चोयाँबाट बुनिने डोकोमा घाँस,गाग्री,ढुङ्गा,गोबर बोक्न प्रयोगमा आउँछ । कृष्ण बहादुरको डोको बुन्ने पेसालाई उनकी श्रीमती मिना सुनारले पनि सघाउँदै आउनुभएको बताउनुहुन्छ ।

कृष्ण बहादुरले जस्तै पुर्खाले गरेको पेसालाई मालिका ७ सिलादीकै पोम बहादुर सुनारले सिको गर्दै आउनु भएको छ । उहाँको लागी दिन कटाउने र घर खर्च चलाउने दरिलो माध्यम भएको छ ।
काटेको चोया भए दैनिक २ देखी ३ बटा डोका निर्माण गर्न सकिन्छ । निर्माण गरेका प्रति डोका २ सय ५० देखी ३ सयसम्म बिक्री हुने गर्दछन् । उहाँहरूले बुनेका सामाग्री घमिर, वाग्ला, मर्भुङ्ग, धुर्कोट, अर्जे लगायतका स्थानमा खपत हुने गर्दछन् ।







प्रतिक्रिया राख्नुहोस्