दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकतामा : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिबार गरी चार वटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गरेको अवसरमा पर्यटन मन्त्री पाण्डेले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि पहिलो प्राथमिकता राखेको प्रष्ट पार्नुभयो । उहाँले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
“मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर तद्अनुरुप कार्य प्रक्रिया अगाडि बढायौँ”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो, “सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठन गरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा करलगायतका विषयमा छुट दिने निर्णय गर्यौँ । त्यसैको परिणाम स्वरूप अहिलेको उडान सम्भव भएको हो ।”
उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरू भइरहेको जानकारी दिनुभयो ।
मन्त्री पाण्डेले ठूलो पुँजी लगानी गरेका विमानस्थल पूर्णरूपमा सञ्चालनका लागि त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रमलगायत अन्तरसम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरूको विकास हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । ती सम्पूर्ण पूर्वाधार निर्माण, यात्रु तथा विमान कम्पनीहरू अभ्यस्त हुन केही समय लाग्नसक्ने भन्दै उहाँले यी तमाम कामलाई चरणबद्ध रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
पर्यटन मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल जस्तो बृहत् विकास परियोजना पूर्ण क्षमता सञ्चालनमा आउन केही समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भैरहवा विमानस्थल निर्माण सम्पन्न भए पनि यसमा इन्स्ट्रमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) जस्ता उपकरण सञ्चालन गर्न र सहज हवाई रुटका लागि छिमेकी मित्रराष्ट्र भारतबाट स्वीकृति लिनुपर्नेजस्ता प्राविधिक समस्याहरू विद्यमान थिए र यी विषय अझै पनि छलफलका क्रममा छन् । जसले गर्दा दुई वर्षसम्म यी विमानस्थलबाट पनि खासै सेवा सञ्चालन हुन सकेन ।”







प्रतिक्रिया राख्नुहोस्