तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक स्थिरताका लागि काङ्ग्रेस र एमालेको सरकार : मन्त्री गुरुङ

दमौली (तनहुँ) । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सरकार गठनमा सहमति बनेको बताउनुभएको छ । 

नेकपा (एमाले)का उपमहासचिव समेत रहनुभएका मन्त्री गुरुङले पार्टी कार्यालय तनहुँमा आज आयोजित भेटघाटमा देशलाई सङ्कट परेका बेला दुई ठूला दल सधैँ मिल्दै आएको बताउनुभयो । 

राजनीतिलाई स्थायित्व दिँदै जनतामा रहेको निराशा चिर्नका लागि दुई पार्टी मिलेर सरकार सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा एक खालको निराशा छाएको थियो । दुई ठूला पार्टी मिलेर देशलाई स्थिरतातर्फ लैजाने प्रयास गरेका हौँ ।” 

दुई ठूला पार्टीको सरकार बन्दै चमत्कारका काम नभए पनि अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै समाधान हुँदै गएको उहाँको दाबी थियो । उहाँले भन्नुभयो, “जहाँजहाँ समस्या थियो, त्यस क्षेत्रमा समाधानका प्रयास भएका छन् । सरकार ठिक ढङ्गले लयमा अगाडी बढेको छ ।”

जनअपेक्षा अनुसारका काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “संविधान पनि काङ्ग्रेस एमाले मिलेर बनाएका हौँ । पञ्चायत विरुद्धको आन्दोलनमा पनि हामी सँगै थियो । जब जब देशलाई आवश्यकता पर्दछ, हामी एकसाथ हुन्छौँ ।” सरकार सञ्चालनमा एकसाथ तर चुनावमा प्रतिस्पर्धा गर्ने गरी अगाडि बढिएको मन्त्री गुरुङको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button