बाँसगढी प्रिमियर लिग टी–२० क्रिकेट : पहिलो राउन्डका खेल सकिए
बाँके । बाँसगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता–२०८१ अन्तर्गत समूह चरणको पहिलो राउन्डका खेलहरू सम्पन्न भएका छन्। शुक्रवारको खेलसँगै पहिलो राउन्डको खेल समाप्त भएको हो, जसमा बाँसगढी रोयल टाइगर्स र एचबीए विजयी भए ।
पहिलो खेलमा बाँसगढी रोयल टाइगर्सले ककौरा सुपर किड्सलाई ६६ रनले पराजित गर्यो। बाँसगढीले टस जितेर ब्याटिङ रोज्दै १८.५ ओभरमा १० विकेट गुमाएर १११ रन बनाएको थियो, जसमा ट्रेभिस जोशीले २५ रन र विनायक गिरीले २३ रन योगदान दिए। ककौरा सुपर किड्सका लागि सौगात खत्रीले ४ विकेट लिए। ११२ रनको लक्ष्य पछ्याएको ककौरा सुपर किड्स १६.५ ओभरमा ४५ रनमा अलआउट भयो। बाँसगढीका सबिन शाक्यले उत्कृष्ट बलिङ गर्दै २.५ ओभरमा १० रन खर्चँदै ४ विकेट लिएर म्यान अफ दि म्याच बने।
दोस्रो खेलमा बाँसगढी राइनोज र एचबीएबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर ब्याटिङ गरेको बाँसगढी राइनोजले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनायो, जसमा सिद्धान्तराज शाहीले ७२ रनको योगदान दिए। एचबीएका लागि आकाश खत्रीले ४ र सोलुप चौधरीले ३ विकेट लिए। जवाफी ब्याटिङमा एचबीएले १९.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा पार्यो। एचबीएका अनुप सिंहले ३१ रन र सोलुप चौधरीले ३६ रन जोडे। सोलुप चौधरीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याचको अवार्ड प्राप्त गरे।
समूह चरणको पहिलो राउन्ड समाप्त भएसँगै अब दोस्रो राउन्डको खेल आइतबार हुनेछ, जसमा पहिलो खेल बाँसगढी राइनोज र बाँसगढी रोयल टाइगर्सबीच र दोस्रो खेल ककौरा सुपर किड्स र एचबीएबीच हुनेछ।
प्रतियोगिता बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय र बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी क्रिकेट क्लबले आयोजना गरेको हो। प्रतियोगिताका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको पहिलो संस्करणमा पशुपति वारियर्स विजेता बनेको थियो।
प्रतिक्रिया राख्नुहोस्