पौषमा तीन दिने मध्यपुर महोत्सव हुने
भक्तपुर । मध्यपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न मध्यपुर थिमि नगरपालिकाले आगामी पौष १२, १३ र १४ गते तीन दिने मध्यपुर महोत्सव आयोजना गर्ने भएको छ ।
स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर स्थानीय अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशील बनाउन सकिन्छ भन्ने अवधारणामा मध्यपुर महोत्सव २०८१ को आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
मध्यपुर थिमिको कला, संस्कृति, परम्परागत पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्त्विक सम्पदा र मौलिक जीवनशैलीको प्रचार प्रसार गरी मध्यपुरमा पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
झण्डै ७५० को सङ्ख्यामा सानाठूला मूर्त सम्पदा एवम् १०० भन्दा बढी अमूर्त सम्पदाहरू रहेको यस नगरपालिकाको ३२ खतको बिस्काजात्रा, म्ये प्वाः खनिगु (जिब्रो छेड्ने) जात्रा, लोकेश्वर जात्रा, द्यःप्याखं (नीलबाराही गण नाच) जात्रा, पुलुकिसी जात्रा, महाकाली नाच, भैलः जात्रा, भतिमाली प्याखँ (इन्द्र अप्सरा नाच) विशेष रूपले चर्चित छ ।
त्यसैगरी तिकिंबजि, हरियो तरकारी, माटोको भाँडाकुँडा, मुकुन्डो जस्ता परम्परागत पेशा र उत्पादनले यस नगरलाई सुपरिचित बनाएको छ । नगरले आफ्नो कला, संस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्त्विक स्मारक र परम्परागत जीवनशैलीलाई आजपर्यन्त जीवन्त राखेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा थिमि शंखधर चोकदेखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्ती क्षेत्र समेटेर करिब ५.५ किमी लामो क्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलको रूपमा प्रस्तुत गरिनेछ ।
महोत्सवलाई व्यवस्थित ढंगले सु–सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरिएको छ । जसअनुसार नगरप्रमुख सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा मध्यपुर महोत्सव मूल समारोह समिति, सल्लाहकार समिति, महोत्सव सञ्चालन समिति लगायत ६ वटा क्षेत्रगत समिति र उक्त क्षेत्रगत समिति अन्तर्गत १० वटा विषयगत उपसमितिहरू गठन गरिएको छ ।
महोत्सवलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न स्रोतबाट व्यहोर्ने गरी करिब २ करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ । महोत्सवलाई करिब ५ लाख स्वदेशी एवम् विदेशी आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्