सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते
बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरको जङ्गलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१२ का ३७ वर्षीय सन्तोष मगराती रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले बताउनुभयो ।
गम्भीर घाइते मगरातीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परि महोत्तरी बर्दिबास नगरपालिका–७ का १५ वर्षिया दीक्षा लुङ्गेली, सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१२ का १७ वर्षीय रविन मिरिङ्गचिङ्ग र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएका छन् । घाइतेहरूको प्रहरी सहयोगमा बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ भने उनीहरूको टाउको, छाती र कम्मरमा चोट लागेको छ । अस्पताल स्रोतका अनुसार घाइतेको अवस्था सामान्य रहेको ।
महोत्तरीको माईस्थानबाट ट्याक्टरको ट्रेलरमा मान्छे बोकेर सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नम्बरको ट्याक्टरलाई सोही दिशातर्फ गइरहेको ना८ख ३१६ नम्बरको ट्रिपरले शुक्रवार राती ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी पोखरेल बताउनुभयो ।
दुर्घटनामा संलग्न दुवै सवारीसहित चितवन रत्ननगर ११ का ३९ वर्षीय ट्रिपर चालक जितबहादुर लोप्चन र सर्लाही ईश्वरपुर–१२ का १९ वर्षीय ट्याक्टर चालक शीतल गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रतिक्रिया राख्नुहोस्