तपाईँ सुन्दै हुनुहुन्छः

विमल गुरुङ कृति पुरस्कार ‘शब्दथुम’ लाई

इलाम । इलाम कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ इलामका कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह ‘शव्दथुम’लाई दिने घोषणा गरेको छ ।

बिहीबार महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर पुस्तकालय समितिले पत्रकार सम्मेलन गर्दै विमल कृति पुरस्कार ‘शव्दथुम’लाई प्रदान गर्ने घोषणा गरेको हो । पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार विमल कृति पुरस्कारका लागि स्वदेश र विदेशबाट प्रकाशित नेपाली भाषाका १०२ पुस्तक दर्ता भएका थियो र तीमध्ये यसअघि १० श्रेष्ठ पुस्तक छनोट गरिएको थियो ।

तिनै १० मध्ये थाम्सुहाङको निबन्ध कृति ‘शव्दथुम’ लाई विमल कृति पुरस्कार प्रदान गर्न निर्णायक समितिले सिफारिस गरेको हो। निर्णायक समितिले शब्दथुम निबन्ध कृतिले शब्दको शक्तिलाई पुष्टि गर्ने प्रयत्न गरेको र कृतिभित्र रैथाने चेत, वैश्विक चिन्तन र मीमांसा पाएको उल्लेख गरेको छ । थाम्सुहाङको कृतिमा रहेका निबन्ध चिन्तनले समतामूलक समाजको परिकल्पना गर्दै सुन्दर समाज निर्माण गर्ने पक्षमा वकालत गरेको छ ।

त्यस्तै ‘शव्दथुम’ ले याक्थुङ मुन्धुम, हिन्दुको वेद, क्रिश्चियनको बाइबल, मुस्लिमको कुरान र बौद्धको त्रिपिटकले भन्ने गरेको शब्दशक्तिलाई विश्वास गरेको पनि निर्णायक समितिले जनाएको छ । थाम्सुहाङको निबन्ध कृति ‘शव्दथुम’ भित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहीनरुपमा उतारिएको छ ।

तिनै रैथाने चेत, संस्कृति र जीवनशैलीलाई आवाज दिने काम निबन्धले गरेको छ । निबन्ध सङ्ग्रहभित्र आफ्नो भूगोलको साँस्कृतिक पक्ष र सिमान्तीकृत चेतलाई उजागर गर्दै सशक्त विचार प्रवाह पनि गरिएको छ । विमल कृति पुरस्कार कात्तिक २४ गते आयोजना हुने ३३ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५३ औँ जन्मजयन्तीको अवसरमा प्रदान गरिने समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले बताउनु भयो । यो पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button