तपाईँ सुन्दै हुनुहुन्छः

तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई पाला बनाउन भ्याई नभ्याई

भक्तपुर । तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दीपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याई नभ्याई भएको छ ।

माग अनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सुर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो, लगायतका क्षेत्रका प्रजापतिहरूलाई भ्याई नभ्याई भएको हो ।

भक्तपुर र थिमिमा उत्पादन भएको पाला भक्तपुर, काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रेपलाञ्चोक, जिरी, दोलखालगायतका विभिन्न जिल्लामा खपत हुने गरेको छ ।

हरेक बर्ष व्यापारीले तिहार अघि नै आएर अर्डर दिएर गएका पाला बनाउने र आफूले खुद्रा बिक्री गर्न पनि पाला बनाउने गरेका छन् । तिहार नजिकिँदै गएको र अर्डर अनुसारको पाला, धुपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याई नभ्याई भएको भक्तपुर नगरपालिका १२ पोटरीस्क्वायरका बिनोद प्रजापतिले बताउनुभयो ।

अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ। पाला बनाउने प्रजापतिको सङ्ख्या घटेपछि पेशा अङ्गाल्दै आएकाहरूलाई भने पाला बनाउन भ्याई नभ्याई भएको हो ।

पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युत् बत्तीको माग समेत उच्च हुने गरेको छ तर तिहारमा बिजुलीका रङ्गीचङ्गी बात्ती बालेर झिलिमिली पार्ने गरे पनि अनिवार्य रुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायीहरू बताउँछन् ।

केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन देखिएपनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी विवेक प्रजापति बताउनुहुन्छ ।

विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो ।
कुमालेहरूले तयार भएको पाला होलसेल व्यापारीहरूलाई बिक्री गरिन्छ । होलसेल व्यापारीहरूले केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ताहरू माझ पुर्‍याउने गरेका छन् ।

भक्तपुर र थिमीमा झण्डै तीन सयभन्दा बढी घरपरिवार कुमाले माटोको भाडा बनाउदै आएकोमा अहिले विस्थापित हुँदै करिब १५० घरपरिवारमा सीमित भएका छन् ।

पोटरी स्क्वायरमा माटोको भाडा बनाउने ९९ परिवारको प्रजापति समुदाय रहेको यस ठाउँमा भूकम्प पछि भत्किएका घर छाडेर अन्यत्र बसाई सरेपछि अहिले माटोको भाडा बनाउनेहरू करिब ४० घरमा समिति भएको उहाँले बताउनुभयो ।

भारतबाट आउने पाला, प्लाष्टिकका पाला र विद्युतीय पालाले माटोको पालाको अर्डर पहिलाको तुलनामा कम आएको बताउँदै उहाँले भक्तपुरमा पाइने माटो अहिले साँखुबाट ल्याउनुपरेको बताउनुभयो ।

विश्व मै चर्चामा रहेको र नेपाल आउने पर्यटकको आकर्षणको केन्द्र रहेको छ कुमालेको माटोको भाडा बनाउने पेशा दीपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भएपनि विगतका केही वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम पनि बढेको छ । सुरक्षाको दृष्टिकोणले समेत पाला उत्तम मानिने गरिन्छ ।

थोरै भाडा बनाउनेले पनि तिहारमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको र बाहिरबाट आएको अर्डर लिएर भाडा बनाउनेले तिहारमा मात्र पाँच लाखसम्म आम्दानी गर्ने गरेको उहाँहरू बताउनुहुन्छ ।

“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ, तिहारमा सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याई नभ्याई छ” पुर्खाले वर्षौँदेखि गर्दै आएको पेसालाई अङ्गाल्दै १७ वर्षदेखि माटोको भाडा बनाउदै आउनुभएका स्थानीय तालाको पोर्टरी स्क्वायरका ३९ वर्षीय विनोदकुमार प्रजापतिले बताउनुभयो ।

तीन वर्ष अगाडिसम्म तिहारमा एकसय वटा पालाको ९० रुपैयाँदेखि ११० रुपैयाँसम्म बिक्री हुने गरे पनि यसवर्ष भने पालाको पनि मूल्य बढेको छ । यसवर्ष व्यापारीलाई होलसेलमा प्रति पाला रु.२ मा बिक्री गरेको र खुद्रा भने रु.४ मा बिक्री गरेको छ ।

सरकारले इलेक्ट्रिक चूलोको व्यवस्था गरिदिए सहज हुने व्यवसायीको भनाई छ । माटोको चर्को मूल्य र अभावले पेशा नै सङ्कटमा पर्ने अवस्था आएको व्यवसायीहरू गुनासो गर्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button