सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध
कटारी (उदयपुर) । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ ।

आज बिहान उक्त सडक खण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले ठुलो पहिरो गएकाले सडक अवरुद्ध भएको बताउनुभयो । “आज बिहानै पहिरो गएको रहेछ, हाम्रो टोली त्यहाँ पुगिसकेको छ”, उहाँले भन्नुभयो, “स्काभेटर, जेसिवीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नहुने भएपछि ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठुलो लोडर माग गरेका छौँ ।” कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले त्यस क्षेत्रमा झन्डै एक सय ५० मिटरभन्दा बढी पहिरोले सडक पुरेको बताउनुभयो । सडक पूर्ण रूपमा अवरुद्ध भई सवारीसाधन आवतजावत गर्न सक्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
सडक खण्ड अवरुद्ध भएपछि कोसी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ । यो खण्ड पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो हो ।








प्रतिक्रिया राख्नुहोस्