तपाईँ सुन्दै हुनुहुन्छः

‘ज्येष्ठ नागरिकलाई सामाजिक गतिविधिमा क्रियाशील बनाउन सके फलदायी’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्येष्ठ नागरिकलाई सङ्गठित बनाई सामाजिक गतिविधिमा क्रियाशील बनाउन सके समाजको लागि फलदायी हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष बिजुक्छेले परिवार र समाजबाट वृद्धवृद्धा अपहेलित हुने र टाढिने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शनको रुपमा काम गर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले स्वास्थ्य खानपान, जीवनशैली, समयमै स्वास्थ्य उपचार, सरसफाइ आदिले ज्येष्ठ नागरिकहरूको आयु लम्ब्याउन सकिने धारणा राख्नुभयो ।

उहाँले भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकको लागि आदर निकेतन सेवा छिटै सञ्चालनमा ल्याउने विश्वास व्यक्त गर्दै स्थानीय तहका जनप्रतिनिधिहरूले नगरभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरूको तथ्याङ्क सङ्कलन गरी आवश्यक सेवा सुविधा प्रदान गरी सहयोगी भूमिका खेल्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेले नगरपालिकाका १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरूलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।

कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्येष्ठ नागरिक समाजका आदर्श पात्र भएकाले उहाँहरूको सम्मान गर्नु सबैको कर्तव्य र जिम्मेवारी भएको बताउनुभयो ।

यसैबीच सूर्यविनायक नगरपालिकाको ४ नम्बर वडाले आफ्ना वडाभित्रका वृद्धवृद्धालाई सम्मानित गरेको छ । ३४ औँ ज्येष्ठ नागरिक दिवसका अवसरमा वडाले मङ्गलवार एक कार्यक्रमको आयोजना गरेर वृद्धवृद्धालाई सम्मान गरेको हो ।

वडाध्यक्ष लक्ष्छुराम न्यौपानेले वडाले ज्येष्ठ नागरिकका लागि समय समयमा स्वास्थ्य शिविरको आयोजना गरेको बताउनुभयो । ज्येष्ठ नागरिक चौतारी निर्माणको कार्यलाई समेत निरन्तरता दिइने अध्यक्ष न्यौपानेको भनाइ थियो ।

वडाका ज्येष्ठ नागरिक मध्येबाट पुरुषमा ९७ बर्षीय गंगा बहादुर शाह र महिलामा ९६ वर्षीया सानु न्यौपानेलाई दोसल्ला, खादा, टीकासहित सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।

दिवसका अवसरमा सूर्यविनायक नगरपालिकाका सबै वडामा विभिन्न कार्यक्रम गरि ज्येष्ठ नागरिक दिवस मनाइएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button