तपाईँ सुन्दै हुनुहुन्छः

जम्मु–कश्मीरमा विधानसभा निर्वाचन अन्तर्गत अन्तिम चरणको मतदान सुरु

श्रीनगर ,भारत । भारत प्रशासित कश्मीरमा मङ्गलबार विधान सभा निर्वाचनअन्तर्गत तेस्रो एवं अन्तिम चरणको मतदान सुरु भएको छ ।  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ मा जम्मु–कश्मीरको विशेष दर्जा हटाइएको र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो । भारत–पाकिस्तानबिच विभाजित रहेको क्षेत्र त्यस बेलादेखि संघीय रूपमा नियुक्त गभर्नरको नियन्त्रणमा रहँदै आएको छ ।  

३५ वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मीर क्षेत्रमा करिब पाँच लाख भारतीय सेना तैनाथ गरिएको छ र मङ्गलबारको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । उच्च बेरोजगारी दर र सन् २०१९ को परिवर्तनप्रति आक्रोशले अभियानलाई उत्प्रेरित गरेको छ । साथै स्थानीय दलहरूले कश्मीरको स्वायत्तताको पुनर्स्थापनाका लागि लड्ने वाचा गरेका छन् । मतदानको पहिलो दुई चरणमा ५५ प्रतिशतभन्दा बढी योग्य मतदाताले मतदान गरेका थिए ।

विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्। करिब एक दशकपछि जम्मु–कश्मीरमा भएको निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको परिणाम अक्टोबर ८ मा घोषणा गरिनेछ । रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button