तपाईँ सुन्दै हुनुहुन्छः

विपद् प्रतिकार्यमा तदारुकताका साथ जुट्न सुरक्षा निकायलाई मुख्यमन्त्री सिंहको आग्रह

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको वर्षाका कारण प्रदेशका विभिन्न नदीको जल स्तर वृद्धि भई बाढी तथा डुबान भइरहेकाले विपत् प्रतिकार्यमा जुट्न सुरक्षा निकायलाई आग्रह गर्नुभएको हो । 

आज पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमतीलगायत विभिन्न नदीको अवलोकनपछि मुख्यमन्त्री सिंहले नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्तावाहिनी मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धवोजीलाई टेलिफोन गरी यस्तो आग्रह गर्नुभएको हो ।  उहाँले जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र मानवीय तथा भौतिक क्षति हुन नदिन सबै खालका उद्धार कार्यमा जुट्न आग्रह गर्नुभयो ।

प्रदेशमा कार्यरत दुवै अधिकारीले सप्तकोसी र बागमती नदीबाहेक अन्य नदीको जल स्तर खतराको चिह्नभन्दा माथि पुगिनसकेको मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँहरूले तटबन्धलगायत संरचनाको आकस्मिक संरक्षण गरी गाउँ बस्तीमा जलप्रवाह रोक्न, डुबानको जोखिममा रहेकालाई स्थानान्तरण गर्न र अन्य सङ्कटबाट पार पाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँमा परिचालन भइरहेको जानकारी गराउनुभयो ।

सप्तकोसी र बागमतीको बहाव खतरा चिह्नभन्दा माथि पुगिसकेको र अन्य नदीमा समेत जल स्तर बढिरहेकाले उच्च सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई समेत आग्रह गर्नुभएको छ । उहाँले विपद् व्यवस्थापन कार्यका लागि जिम्मेवार जनप्रतिनिधि र सरकारी अधिकारी तथा स्वयंसेवी संस्थाहरूसमेतलाई बाढी पानीबाट उत्पन्न हुने विपत् सामना गर्न तयार अवस्थामा रहन आह्वान गर्नुभएको छ ।

आज बागमती नगरपालिकाको कर्मेयास्थित बागमती पुलमा पुगेका मुख्यमन्त्री सिंहले पाँच हजार ५०० क्युसेक पानीको बहाव पुगेको र त्यो स्थिति खतरा चिह्नभन्दा पाँच सयले बढी भएको, कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेको जानकारी पाएकाले जल स्तरमा थप वृद्धि हुने हुँदा नदी तटीय क्षेत्र रौतहट र सर्लाही जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रदेशको कमला नदीमा जलप्रवाह ११ हजार ५० क्यसेक छ । प्रदेशमा अहिलेसम्म कुनै ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छैन । बाराको जितपुर सिमरा नगरपालिका–१२ स्थित लालबकैया नदीको तटबन्ध भत्किन लागेको खबर प्राप्त भएपछि नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितको टोली त्यस ठाउँमा पुगी बाँध मर्मत कार्य भइरहेको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button