तपाईँ सुन्दै हुनुहुन्छः

जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम अव नयाँ ढङ्गबाट सञ्चालन हुने

विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यस वर्षदेखि जनतासँग कोशी प्रदेश सरकार कार्यक्रमको नाममा सञ्चालन हुने  भएको छ ।  

कोशी प्रदेश सरकारको आज  बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि पास गरेर नयाँ ढंगले कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

 २०७८ सालदेखि स्थानीय टेलिभिजन र एफएम रेडियोहरूबाट यो कार्यक्रम प्रसारण गर्न बन्द गरेर नेपाल टेलिभिजनमार्फत मात्रै प्रसारण गर्दै आएकोमा यस वर्षदेखि कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट प्रसारण गर्ने गरी कार्यविधिमा व्यवस्था गरिएको छ । 

यसले कोशी प्रदेशमा रहेका स्थानीय सञ्चारमाध्यमलाई फाइदा पुग्ने छ ।  यस क्षेत्रका रेडियो तथा टेलिभिजन प्रसारण संस्थाहरूले यो कार्यक्रम आफ्नो सञ्चारमाध्यमबाट प्रसारण गर्न पाउनु पर्ने माग गर्दै आएका थिए । 

यस्तै मङ्गलवारको  बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानूनमन्त्री लीला वल्लभ अधिकारीको संयोजकत्वमा कानून न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ ।

 त्यस्तै खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गत एसियाली विकास बैङ्कको ऋण सहयोगमा र साउदी फण्ड फर डेभलपमेन्टको सह लगानीबाट कोशी प्रदेशमा सिँचाइ आयोजना सञ्चालन गर्न वार्ता र सहमति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो परियोजना अन्तर्गत कोशी प्रदेशमा करिब २७ वटा सिँचाइ आयोजनाहरू सञ्चालन हुने छन् । 

त्यस्तै खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतकै जलवायु अनुकुलित वृहत् खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ । 

त्यस्तै मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयका १० औँ र ११ औँ तहका कर्मचारीको सरुवा गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डा वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गरिएको छ । त्यस्तै १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरिएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button