मलेसियाली प्रहरीद्वारा बाल दुर्व्यवहारको आरोपमा एकै समूहको १ सय बैङ्क खाता रोक्का
क्वालालम्पुर । मलेसियाली अधिकारीले सयौँ बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा हेरचाह केन्द्र सञ्चालक समूहको १ सय वटा बैङ्क खाता रोक्का गरेको प्रहरीले मङ्गलबार जनाएको छ ।
प्रहरीले इस्लामिक धार्मिक शिक्षक र कल्याणकारी घरहरूको हेरचाह गर्नेसहित १ सय ७१ संदिग्धहरूलाई पक्राउ गरेको छ र २० वटा हेरचाह गृहबाट ४ सयभन्दा बढी बालबालिकाको उद्धार गरेको छ ।
प्रहरीले लामो समयदेखि अहिले–निष्क्रिय अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका लागि विवादास्पद रहेको ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) समूहलाई अनुसन्धानको दायरामा राखेको छ ।
मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दीन हुसेनले मङ्गलबार अधिकारीले यस समूहसँग सम्बन्धित ९६ वटा बैङ्क खाताहरू फ्रिज गरेको बताउनुभयो जसमा लगभग १ लाख २४ हजार डलर रहेको थियो ।
“हामीले कम्पनीसँग सम्बन्धित आठवटा सवारी साधन पनि जफत गरेका छौँ”, उहाँले बताउनुभयो ।
प्रहरीले छापा मारेलगत्तै जीआईएसबीले सेलान्गोर र नेगेरी सेम्बिलान राज्यमा भएको घटनाको आरोप अस्वीकार गर्दै आफूले उक्त क्षेत्रमा हेरचाह केन्द्र सञ्चालन नगरेको बताएको थियो ।
तर शनिबार कम्पनीको फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमार्फत प्रमुख कार्यकारी अधिकारी नसिरुद्दीन अलीले व्यापक दुर्व्यवहारको आरोपलाई अस्वीकार गर्दै आफूले सञ्चालन गरेको आश्रयस्थलहरूमा एक वा दुई यौन दुर्व्यवहारको घटना भएको भने स्वीकार गर्नुभएको छ ।
मेडिकल स्क्रिनिङबाट कम्तीमा १३ जना बालबालिकाले यौन दुर्व्यवहार भोगेको पुष्टि भएको गत हप्ता राजारुद्दिनले बताउनुभयो ।
यो मुद्दाले मलेसियामा हेरचाह केन्द्रमा बालबालिकाको कल्याण र परोपकारी संस्थाहरूको नियमनको बारेमा चिन्ता उत्पन्न गरेको छ । रासस







प्रतिक्रिया राख्नुहोस्