तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाका रिक्त दुई समितिका सभापतिको निर्वाचनका लागि मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतका रिक्त रहेको दुई समितिका सभापतिको निर्वाचनका लागि ३ जना सांसदहरुले मनोनयन दर्ता गराउनुभएको छ ।

माथिल्लो सदन अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभापतिका लागि आज नेकपा एकीकृत समाजवादीका सांसद जयन्तीदेवी राई र नेकपा एमालेका सांसद तुलसा कुमारी दाहालले मनोनयन गराउनुभएको छ ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले मनोनयन दर्ता गराउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको कार्यकाल भदौ २३ गते सकिएको थियो । राष्ट्रिय सभा नियमावली (दोस्रो संशोधन)–२०८० मा पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाको मंङलबारको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले रिक्त रहेको दुवै समितिको सभापतिको निर्वाचन भदौ ३१ गते गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button