मताधिकारको सम्मान गर्नु राज्यको दायित्व हो: प्रधानमन्त्री ओली

काठमाडौँ । दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्च फेम्बोसाको १२ औँ सम्मेलन काठमाडौँमा शुरु भएको छ ।
सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिविम्बित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो ।
जलवायु परिवर्तनका कारण मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अङ्गका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडी बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जबाफदेही र पारदर्शी निर्वाचनको दायित्व पुरा गर्न सकेमा जनताको मताधिकारको सम्मान हुने बताउनुभयो ।
सम्मेलनले फेम्बोसा बडापत्रको प्रभावकारी कार्यान्वयनमा थप सघाउ पु¥याउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले दक्षिण एसियामा लोकतन्त्रका लागि राजनीतिक नेतृत्वले पु¥याएको योगदानको स्मरण गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले फेम्बोसाको १२ औँ सम्मेलन नेपालले आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो ।
भुटानका प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग माल्दिभ्सका अध्यक्ष, निर्वाचन आयोग श्रीलङ्काका अध्यक्ष र निर्वाचन आयोग भारतका उपनिर्वाचन आयुक्तले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचनका नवीनतम मुद्दाहरूका सम्बन्धमा साझा धारणा बनाउनुपर्ने बताउनुभयो ।
भुटानका प्रमुख निर्वाचन आयुक्त एवम् फेम्बोसाका अध्यक्ष दासो सोनाम तोग्बेले ११ औँ सम्मेलन कोभिड–१९ को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न भएको स्मरण गर्दै फेम्बोसाको अध्यक्षता नेपाललाई हस्तान्तरण गर्नुभयो ।
भोलि सम्पन्न हुने फेम्बोसाको २ दिने सम्मेलनमा निर्वाचन र जलवायु परिवर्तन, निर्वाचन र आप्रवासन तथा निर्वाचन र सामाजिक सञ्जालको मुद्दामा विज्ञको प्रस्तुति र छलफल हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचन व्यवस्थापनका लागि आगामी दिनमा गर्नु पर्ने सुधारका पक्षमा छलफल केन्द्रित रहने र सम्मेलनमा प्राप्त सुझावलाई समावेश गरेर काठमाडौँ घोषणापत्र जारी गरिने छ ।







प्रतिक्रिया राख्नुहोस्