तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले सो जानकारी दिनुभएको हो । “पछिल्लो समय नेपालमा ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण सफल भएको छ”, मिर्गौला रोग विशेषज्ञ डा काफ्लेले भन्नुभयो ।

डा काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःमिर्गौला प्रत्यारोपण नेपालमै गर्न लाग्नुभएकोमा यो नेपाली चिकित्सकको लागि ठूलो अवसर भएको बताउनुभयो । उहाँले प्रत्यारोपणको तयारी राम्रो भएकाले शल्यक्रिया सफल हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

वरिष्ठ चिकित्सक डा सुन्दरमणि दीक्षितले पनि प्रधानमन्त्रीले आफ्नो मिर्गौलाको प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताउनुभयो । डा दिक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नागरिक आवतजावत गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने बताउनुभयो ।

डा देवकोटाले शुक्रराज ट्रपिकल, पाटन अस्पताल र सशस्त्रमा श्यया तयारी अवस्थामा राखिएको बताउनुभयो । त्यस्तै, काठमाडौँ उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद बिरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण ८० देखि ८२ प्रतिशत चाही सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उहाँले स्पष्ट पार्नुभयो । साबुन पानीले नियमित हात धुन र अनावश्यक भीडभाडमा नजान र मास्क लगाउन उहाँले सुझाव दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button