तपाईँ सुन्दै हुनुहुन्छः

‘समयमा कर तिर्नुहोस्, छुटैछुट पाउनुहोस्’

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले ‘समयमा कर तिर्नुहोस्, छुटैछुट पाउनुहोस्’ योजना ल्याएको छ । नगरपालिकाले कर उत्प्रेरणा कार्यक्रम अन्तर्गत करदातालाई विशेष सहुलियत दिन चालु आर्थिक वर्ष २०८१/०८२ मा कर तिर्दा विभिन्न छुट तथा सहुलियतको योजना ल्याएको हो ।

जसअनुसार २०८१ श्रावणदेखि असोज महिना भित्रमा सम्पत्ति कर बुझाएमा आ.व. २०८१/०८२ मा लाग्ने करमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यस्तै अघिल्ला वर्षहरूको समेत सम्पत्ति करमा समेत छुटको व्यवस्था गरेको नगरपालिकाको राजश्व शाखा प्रमुख रविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार करदाताहरूले २०८१ श्रावणदेखि असोजभित्र कर बुझाएमा अघिल्लो ३ वर्षको बक्यौतामा लाग्ने जरिवाना छुट गरिएको छ ।

नगरपालिकाले नयाँ व्यवसाय दर्तालाई प्रोत्साहन गर्न आर्थिक बर्ष २०७४/०७५ लाई आधार बर्ष मानी उक्त आर्थिक बर्ष भन्दा अगाडिको व्यवसाय कर छुट गरिएको छ । यसैगरी २०८१ साल श्रावणदेखि असोज महिनाभित्र व्यवसाय दर्ता नवीकरण गर्न आएमा बक्यौता करमा लाग्ने सम्पूर्ण जरिवाना छुट गरिएको छ ।

नगरपालिकाले सम्पत्ति करमा जस्तै व्यवसाय करमा पनि २०८१ साल श्रावणदेखि असोज महिनाभित्र व्यवसाय कर बुझाएमा आ.ब. २०८१/०८२ मा लाग्ने व्यवसाय करमा मात्र १० प्रतिशत छुट गरिएको छ ।

नगरपालिकाले नयाँ व्यवसाय दर्तामा समेत १० प्रतिशत छुटको प्रावधान लागु हुने जनाएको छ ।

नगरपालिकाले घरबहाल करमा समेत विशेष छुटको व्यवस्था गरेको छ । जसअनुसार २०८१ श्रावणदेखि असोज महिना भित्रमा आ.व. २०८१/०८२ मा लाग्ने सम्पूर्ण घरबहाल कर एकमुष्ट अग्रिम बुझाउने करदातालाई चालु आ.ब. मा लाग्ने बहाल करमा मात्र १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

नगरपालिकाले करदाताको चाहना अनुरुप आवासीय र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै बहाल करको दर लागु गरेको छ । नगरपालिकाले आवासीय प्रयोजनका लागि बहालमा लगाएको अवस्थामा ५ प्रतिशत र व्यावसायिक प्रयोजनका लागि दिइएको बहालमा १० प्रतिशत कर लागु गरेको छ ।

नगरपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोतले जनताले तिर्ने विभिन्न कर भएकाले करदाताको चाहना र उनीहरुलाई थप सुविधा दिई कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले करमा विभिन्न छुटको योजना ल्याएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

उहाँले बहाल करमा धेरै जनगुनासो आएको र करको दर बढी भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बहाल करमा दुई थरी करको दर लागु गरिएको जानकारी दिनुभयो । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले ल्याएको छुटको सुविधा लिई मौकाको फाइदा उठाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button